आइतबार ८,८५० जनामा सङ्क्रमण पुष्टि, ८८ जनाको निधन

आइतबार ८,८५० जनामा सङ्क्रमण पुष्टि, ८८ जनाको निधन



आइतबार नेपालभर कोभिड-१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको बताए । अब नेपालमा कुल सङ्क्रमित संख्या तीन लाख ९४ हजार ६६७ पुगेको छ ।

देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका दुई हजार ३८ जना रहेको मन्त्रालयको भनाइ छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ८८ जनाको निधन भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेको आधारमा आइतबार निधन हुनेको सङ्ख्या ८८ पुगेको बताए । निधन हुनेसँगै नेपालमा अहिलेसम्म तीन हजार ७२० पुगेको छ ।

बताइएअनुसार पाँच सय बढी सङ्क्रमण भएका जिल्ला २६ पुगेका छन् । प्रवक्ता डा. गौतमका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत,कैलाली, कञ्चनपुर र वैतडी रहेका छन् ।