काठमाडौं उपत्यकामा थप दुई साता निषेधाज्ञा

काठमाडौं उपत्यकामा थप दुई साता निषेधाज्ञा



काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म (दुई साता) थप गरिएको छ । यही वैशाख १६ गते एक हप्ताका लागि निषेधाज्ञा लगाइएकोमा पछि त्यसलाई कडा बनाउँदै एक हप्ता थपेर वैशाख २९ सम्म पुऱ्याइएको थियो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा आगामी दुई सातासम्म निषेधाज्ञा थप गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जानकारी दिएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक उपभोग्य वस्तुका पसल एक घण्टा बढाएर १० बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । यसअघि उपभोग्य वस्तुका पसल ९ बजेसम्म मात्र खोल्न पाइने गरी तोकिएको थियो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार विवाह, व्रतबन्धजस्ता कार्यक्रमहरू होटल वा पार्टी प्यालेसमा समेत गर्न नपाइने निर्णय गरिएको छ । सीमित आफन्तजन बसेर सुरक्षित स्थानमा बिहे र ब्रतबन्धको कार्य सम्पन्न गर्न अनुरोध गरिएको छ । अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालयहरू बन्द गराउने निर्णय गरिएको पनि उनले जानकारी गराएका छन् ।