धारा ७६ (२) अनुसार बहुमतको सरकार बन्ने सम्भावना क्षीण !

धारा ७६ (२) अनुसार बहुमतको सरकार बन्ने सम्भावना क्षीण !



संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा ज्यादा दलको समर्थनमा सरकार गठन गर्ने प्रचण्ड-देउवाको प्रयास सफल हुने सम्भावना न्युन हुँदै गएको छ । बिहीबार दिनभर बहुमत पुऱ्याउने कसरतमा दौडधुप र भेटवार्ता चले पनि जसपा अध्यक्ष महन्थ ठाकुरले आफूनिकट १६ सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि प्रचण्ड, देउवालगायत केपीविरुद्ध कसरत गरिरहेका नेताहरुको दौडधुप परिणामदायी हुन नसकेको हो ।

यतिबेला नेपाली कांग्रेसकोे पदाधिकारी बैठक देउवानिवासमा बसिरहेको छ । कांग्रेस बैठक शुरु हुनुअघि देउवासँग छलफल गर्न प्रचण्ड स्वयम् बुढानिलकण्ठ पुगेका थिए । बहुमत सांसद आफ्नो पक्षमा पुऱ्याउन भरमग्दूर प्रयत्न गरिरहेका यी दुई नेताबीच भएको छलफलबारे विस्तृत विवरण प्राप्त नभए पनि देउवा निवासबाट प्रचण्ड निराश हुँदै फर्किएका बुझिएको छ । अनेक प्रयत्नका बाबजुद जसपाको महन्थ ठाकुर पक्षको समर्थन हासिल गर्न नसकेपछि प्रचण्ड निराश हुन पुगेका स्रोतको भनाइ छ ।

यता माधव नेपालसमर्थक सांसदहरुले राजीनामा दिने आशामा रहेका शेरबहादुर देउवा पनि नेपाल पक्षले धोका दिएको विश्लेषणमा पुगेका बुझिएको छ । माधव नेपालसहित चार एमाले नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने एमालेको स्थायी कमिटी बैठकको निर्णयलगत्तै अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको थियो । सो भेटवार्तापछि माधव समूहको राजीनामा समेत अनिश्चित बन्न पुगेको हो ।