बेनेलक्सका नेपाली राजदूतद्वारा नेपाललाई सहयोग गर्न आग्रह

बेनेलक्सका नेपाली राजदूतद्वारा नेपाललाई सहयोग गर्न आग्रह


  • सनत आचार्य (युरोप प्रतिनिधि), ब्रसेल्स

बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्ग)का लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले नेपालमा पछिल्लो समयमा कोभिडका कारण देखिएको विषम अवस्थामा सहयोग गर्न अपिल गर्नुभएको छ ।

ब्रसेल्सस्थित नेपाली दूतावासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजदूत राजभण्डारीले कोभिड भूकम्पभन्दा खतर्नाक प्रकृतिको विपद् भएको उल्लेख गर्दै यतिबेला स्वदेशबाहिर रहेका सबैले नेपालमा कोरोनाका कारण उत्पन्न सङ्कटसँग जुझ्न जे सकिन्छ सहयोग गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

उहाँले नेपालमा देखापरेको सङ्कटका बारेमा आफूले गैरआवासीय नेपाली संघलगायत आफ्नो मातहतमा पर्ने विभिन्न संघसंस्थाहरूलाई सहयोगका लागि आग्रह गरेको जानकारी दिँदै युरोपियन युनियनअन्तर्गतको युरोपियन नागरिक संरक्षण तथा मानवीय सहयोग संचालन कार्यक्रमार्फत नेपाललाई गत बुधवार २ मिलियन युरो (करिब २८ करोड) रकम तत्काल सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।

यसैगरी राजदूत राजभण्डारीले आफूले निदरल्याण्ड सरकारसँग पनि सहयोगको लागि अनुरोध गरेको र उनीहरूबाट युरोपियन युनियनमार्फत सहयोग गर्ने आश्वासन प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले देश गम्भीर संकटमा परेको बेला पत्रकार जगतलाई समेत चिन्तित तुल्याएको धारणा राख्दै यो बेला नेपाली दूतावासले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

पत्रकार शर्माले पछिल्लो समयमा नेपालको आफ्नै कारणले स्वदेशी तथा विदेशीहरूले विश्वास गर्न नसक्ने अवस्था सृजना गरेको जानकारी दिँदै यस्तो अवस्थामा सबै जुटेर कोभिडविरुद्धको लडाइँमा सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो ।

महासंघका संस्थापक सचिव शेरबहादुर छन्त्यालले स्वदेशी भूमिबाट देशको वर्तमान अवस्थालाई हेर्दा सबैलाई पीडा हुने परिस्थिति देखिएकोमा यो परिस्थितिमा विदेशबाट सक्दो सहयोग गर्नु नागरिकको धर्म भएको औंल्याउनुभयो ।

समाजसेवी पेम्बागेलु शेर्पाले दूतावासले यो अवस्थामा सबैबाट सरसल्लाह लिने–दिने गरेकोमा खुशी प्रकट गर्दै संकटमा सबै क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।