कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको उल्लेख गर्दै भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ६६ हजार २०७ पुगेको जनाएको छ ।
बताइएअनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४३ लाख ७२ हजार पुगेको छ जसमध्ये दुई करोड चार लाख ३२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।
हाल ३६ लाख ७३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेको भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।
भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् ।
हाल, कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।
प्रतिक्रिया