समय गुजारेर आत्तिने प्रवृत्ति-दिनेश नेपाल

समय गुजारेर आत्तिने प्रवृत्ति-दिनेश नेपाल


‘जब पर्‍यो राति तब बूढी ताती’ भन्ने उखानलाई चरितार्थ गर्दै समय छँदा पटक्कै नहतारिने तर समय गुज्रिँदै अन्त्यतिर पुगेपछि अति नै आत्तिने र हतारिने राजनीतिक दलहरूको प्रवृत्तिले अब पनि समयमै जनमुखी संविधान हात गर्छ कि पर्दैन भन्ने जनशङ्का यथावत् रहेको पाइन्छ ।
एकातिर जनतामा शङ्का रहनु र अर्कोतिर संविधानसभाको म्याद थप्नेबित्तिकै राजनीतिक दलहरू नयाँ सरकार निर्माण गर्न लाग्नुबाट कतै राष्ट्र पुन: अन्योलको स्थितिमा पुग्न लागेको त होइन भन्ने भान हुन्छ । ‘जनशङ्का दूर गरी राष्ट्रलाई भड्खालोमा हाल्ने काम नगर’ भनी जनता राजनीतिक दलहरूलाई अनुरोध गरिरहेका छन्, यतिबेला जनमानसको आशय यही नै रहेको पाइन्छ । नेपालको विडम्बना नै भनौँ कि जहिले पनि भाषण र मौखिक रूपमा राजनीतिक दलहरूले देशलाई कहिले संसारकै विकसित देशजस्तो बनाइदिन्छौँ त कहिले फलानो महादेशीय मापदण्डमा पुर्‍याइदिन्छौँ भन्दै कार्यबाट चाहिँ राष्ट्रलाई दिनप्रतिदिन ओरालो लगाएको यथार्थ जस्तै अहिले देशलाई सर्वोकृष्ट संविधान दिन्छौँ भन्ने कुरा पनि त्यसकै पर्याय हो कि भनी जनता सोच्न थालेका छन् ।
अहिले गम्भीर भई सोच्ने बेला पनि आएजस्तो लाग्छ, किनभने विभिन्न विकास कार्यमा हात राख्न तयार भएका स्वदेशी एवम् विदेशी लगानीकर्ता देशको अन्योलपूर्ण स्थिति देखेर र्’पर्ख र हेर’को स्थितिमा छन् । यस सँगसँगै राष्ट्र निर्माणमा सधैं साथ दिइरहेका राष्ट्र र विभिन्न निकाय पनि पूर्णरूपेण लाग्न तत्पर नहुनुबाट देशका राज्य सञ्चालनमा सामेल भएका र प्रतिपक्षमा रहेका दलहरू एवम् राजनीतिक व्यक्तिहरूले आपसी अनमेल र वैरभावलाई त्याग्दै लगानीमय वातावरण सिर्जना गरी बेलैमा संविधान दिँदै जनताले साँच्चै नै राजनीतिक दलहरू ‘आफ्ना’ भए भन्ने भावना जनतामा जगाउनु अति आवश्यक देखिन्छ ।
एकातिर जनइच्छा सबै राजनीतिक दलहरू मिली राष्ट्रलाई अन्योलको स्थितिबाट पार लगाउँदै समृद्धिको बाटोमा अग्रसर होऊन् भन्ने छ भने अर्कोतिर सबैजसो प्रत्येक राजनीतिक दलभित्र नेताहरू राष्ट्र निर्माणमा भन्दा आफ्नो अहम् कायम राख्नमा तल्लीन भई राष्ट्रभन्दा आफू समृद्ध हुने कार्यमा लागेको जनताले यहसास गरेका छन् । उदाहरणस्वरूप नेपाली काङ्ग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाको अहम् टकराव, नेकपा एमालेमा झलनाथ र खड्ग ओलीबीचको टकराव र एनेकपा माओवादीमा किरण र डा. बाबुरामबीचको टकरावलाई लिन सकिन्छ ।
अहिले अन्य दलहरूभन्दा एनेकपा माओवादी सजग भई आफ्ना दलभित्र रहेका अहम् टकरावलाई न्यून गरी सबै एकजुट भएर संविधान निर्माण र दल सुदृढीकरणथर्फ लाग्नुपर्ने देखिन्छ । किनभने, संसारको दृष्टि अहिले डा. बाबुराम भट्टराईको नेतृत्वमा केन्द्रित छ । यस पर्रि्र्र्रेक्ष्यमा अहिले माओवादीको नेतृत्व असफल भयो र अन्य दलले आफ्नो हितमा काम गरे भने अबउप्रान्त मुस्किलले जनता र संसारले माओवादीलाई विश्वास गर्लान् भन्ने तथ्य परिस्थितिले जाहेर गरिरहेको छ । यस घडीमा माओवादी र यसका नेताहरूलाई आपसी अनमेल इतिहासकै सबभन्दा महँगो सावित हुनसक्छ । यसको बदलामा माओवादीका सम्पूर्ण राजनीतिककर्मी एकजुट भई राष्ट्रिय लक्ष्य प्राप्त गर्न अग्रसर भई राष्ट्रलाई समृद्धिथर्फ लैजाने कार्य गरिरहेका छन् भन्ने जनविश्वास भएमा एनेकपा माओवादी राष्ट्रको निमित्त ‘सदावहार’ दल बन्न सक्नेछ । यो तथ्य वास्तवमा एनेकपा माओवादीमा मात्र लागू नभई अन्य दलहरू मुख्यतया नेपाली काङ्ग्रेस र नेकपा एमालेमा पनि लागू हुनसक्छ । यी सबै तथ्यहरूबाट नेपालमा अहिलेको विषम परिस्थितिबाट जुन दलले जनतालाई उन्मुक्ति दिन्छ जनताद्वारा त्यही दललाई सदावहार दल बनाइने लगभग पक्का देखिन्छ ।
वास्तवमा नेपालका राजनीतिक दलहरू सदावहार दल बन्न चाहन्छन् र आफूहरूमा रहेको समय छँदा ढुक्क बस्ने र बेला गुजे्रपछि अति आत्तिने या हतारिने भन्ने प्रवृत्तिबाट मुक्ति चाहन्छन् भने अब थपिएको ६ महिनाको अवधिमा विगतको जस्तो नभई साँच्चै नै परिपूर्ण हुने खालको समयतालिका निर्माण गर्दै तालिकानुरूप कार्यसम्पादन गरी म्यादअगावै देशमा संविधान लागू गर्नुपर्ने देखिन्छ । माथि उल्लेखित तथ्यहरू परिपूर्ण गर्न देशका राजनीतिक दलका नेताहरूमा महात्मा गान्धी, अब्राहम लिंकन, लेनिन, होची मिन्हको जस्तो देशप्रेम र त्यागको भावना अति जरुरी देखिन्छ ।
यदि नेताहरूले विश्वका राजनेताहरूको जस्तो गुण प्रदर्शन गर्दै देशमा दिगो शान्ति कायम गरी अन्य विकसित राष्ट्रहरूको जस्तो घरघरी संशोधन गर्न नपर्ने एवम् जनसमृद्धि हुने खालको र अन्य राष्ट्रहरूलाई पनि नमुना हुने विशेषतायुक्त संविधान दिएमा साँच्चै नै जनताले अब देशमा रहेको कालो बादल फाटी नौलो बिहानी आएको सुमधुर आभास गर्न पाउनेछन् ।
तत्पश्चात् नेपालीले आफ्नो देश अरू देशजस्तो बन्यो कि बनेन भनेर हेर्ने दिनको समाप्ति हुँदै अन्य देशले आफ्नो देश नेपालजस्तो छ कि छैन भनी हेर्ने दिन आउला भनी जनता आशा गरिरहेका छन् ।