- राजन घिमिरे
प्रबासी जीवन त्यति सहज र सरल छैन । प्रबासमा रहँदा अधिकांशको सपना हुन्छ धन कमाउने । यो सपना धेरैको पूरा भएता पनि मन भने कमाउन सकिरहेको देखिँदैन । धनसँगै प्रबासी नेपालीहरूको हार्दिकता, माया र साथ-सहयोग अनि विश्वास कमाउने प्रबासी नेपालीमा पर्दछन् रविन्द्रकुमार शर्मा ।
रविन्द्र लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आइरहेका छन् । विद्यार्थीको रूपमा १० वर्ष अगाडि अष्ट्रेलिया हानिएका रविन्द्रको आज सिड्नीको नेपाली समाजमा आफ्नै विशिष्ट पहिचान र उपस्थिति छ । बाबा ऐजुकेसन कन्सल्टेन्सीमार्फत शिक्षा क्षेत्रमा लागि पर्दै आएका रविन्द्रले बाबा र आरकेएस अष्ट्रेलियामार्फत सिड्नीको नेपाली समाजमा निकै सह्रानीय र प्रशंसनीय कार्य गर्दै आइरहेका छन् ।
सिड्नीमा आयोजना हुने नेपाली चलचित्र होस् या कुनै सांस्कृतिक कार्यक्रम नै किन नहोस् यस्ता कार्यक्रमहरुमा उनको दह्रो उपस्थिति र हार्दिक साथ अनि सहयोग रविन्द्रको विशेषता पनि हो । उनलाई नजिकबाट चिन्नेहरू उनको बारेमा भन्छन्- ‘निकै जोशिला, उत्साही र सहयोगी प्रकृतिका युवक हुन् रविन्द्र । उनको कार्यकालमा अर्बन समाजले राम्रो फड्को मार्ने छ ।’
यिनै उत्साही र जाँगरिला युवा रविन्द्रलाई नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको मुटु अर्बनमा रहने नेपालीहरूले आफ्नो संस्थाको प्रमुखको रूपमा चयन गरेका छन् । रविन्द्रकुमार शर्मा अर्बन नेपाली समाजको अध्यक्षको रूपमा चयन भएका हुन् । ‘आगामी दिनमा सस्थालाई सामूहिक रूपमा नेपालीहरूको हक हितको पक्षमा दिलो ज्यान लगाउने प्रतिबद्धता ब्यक्त गर्दछु’, अध्यक्ष पदमा चुनिएपछि शर्माले भने ।
यसैगरी समाजको उपाध्यक्षमा जितेन्द्र श्रेष्ठ र सविन डाँगी, महासचिवमा सन्तोष आचार्य, सचिवमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, युवा संयोजकमा युद्धिका कुँबर चयन भएका छन् भने सदस्यहरूमा मनोज अधिकारी, भूपेन्द्र कँडेल, आयुष अधिकारी, निशान कार्की, धिरेनबहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन् । समाजले सल्लाहकारहरूमा दिनेशकुमार पोखरेल, मनऋषि धिताल, रमेश बानियाँ, राजकुमार श्रेष्ठ र राजु गिरीलाई चयन गरेको छ भने समाजले पूर्वअध्यक्ष अशोक उप्रेतीलाई संरक्षकको रूपमा चयन गरेको छ ।
प्रतिक्रिया