पेट्रोलियमको मूल्य पुन: वृद्धि, निगम अझै घाटामा रहेको दाबी

पेट्रोलियमको मूल्य पुन: वृद्धि, निगम अझै घाटामा रहेको दाबी



पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको तर्क दिँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य वृद्धि गरिएको निगमले एक विज्ञप्तिमार्फत् जनाएको छ ।

निगमले जनाएअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक उडान)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले मूल्यवृद्धि गरिएको हो । यसअनुसार अब पेट्रोलको १ सय २३, डिजेल र मट्टितेलको १ सय ६ र हवाई इन्धनको ७८ प्रतिलिटर मुलय कायम गरिएको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो मूल्यवृद्धिपछि पनि निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ । एलपी ग्यासको कारोबारबाट मात्र निगमलाई पाक्षिक ५४ करोड घाटा हुने बताइएको छ ।