- सनत आचार्य, युरोप प्रतिनिधि
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले ‘नेपालमा अक्सिजन पठाउँ : आफन्तको ज्यान बचाउँ’ अभियानअन्तर्गत थप स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको छ ।
संघका अध्यक्ष चित्र सुवेदीको अध्यक्षतामा सोमबार बसेको बैठकले नेपालमा बढ्दो कोरोना संक्रमण रोकथाम र संक्रमितहरूको उपचारमा थप सहयोग प्रदान गर्न तत्काल २० लाख रुपैयाँ बराबरको अक्सिजन कन्सनट्रेटर मसिन सहयोग गर्ने निर्णय भएको गैरआवासीय नेपाली संघ बेल्जियमका महासचिव तीर्थराज धमलाले जानकारी दिनुभयो ।
महासचिव धमलाका अनुसार बेल्जियममा रहेका वैचारिक संगठन तथा अन्य संघ–संस्थाहरूलाई समेत आह्वान गर्दा केही संघ–संस्थाले थप सहयोग गरेका हुन् ।
प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष बोधराज पौडेल र जनप्रगतिशील मञ्चका अध्यक्ष जीत लामाले पनि एक–एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग धमलाको भनाइ छ ।
एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुबेदीलगायत एनआरएनए आईसीसी उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, निवर्तमान आईसीसी सदस्य पदम गुरुङले पनि एक–एक थान कन्सन्ट्रेटर दिने प्रतिबद्धता व्यक्त गर्नुभएको महासचिव धमलाले जानकारी दिनुभयो ।
स्मरण रहोस्, यसअघि पनि संघले अक्सिजन खरिदका लागि एक हजार युरो (करिव एक लाख ४० हजार रुपैयाँ) प्रदान गरिसकेको छ ।
यसैबीच बेल्जियमका विभिन्न संघसंस्थाहरूले निरन्तर सहयोग गरेकोमा बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्वर्ग) का राजदुत गेहेन्द्र राजभण्डारीले आभार प्रकट गर्नुभएको छ । राजदुत राजभण्डारीले अझै विभिन्न निकायवाट ठोस रूपमा सहयोग आउने कुरामा विश्वस्त रहेको बताउनुभयो ।
गैरआवासीय नेपाली संघ बेल्जियमले नेपालको स्वास्थ्य संकटमा व्यक्ति तथा सामाजिक संघसंस्थाहरूलाई निरन्तर सहयोग गर्न आह्वान गरेको छ ।
प्रतिक्रिया