- सनत आचार्य, युरोप प्रतिनिधि
युरोपियन युनियनअन्तर्गत युरोपियन नागरिक संरक्षण तथा मानवीय सहयोग कार्यक्रमले नेपालको वर्तमान स्वास्थ्य संकटमा तत्काल सहयोग गर्ने उदेश्यले दोश्रोपटक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीका अनुसार ईयुले उक्त सहयोग सोमबार (१७ मे ) घोषणा गरेको हो ।
ईयुबाट सहयोगस्वरुप प्राप्त स्वास्थ्यसामग्री जति सक्यो छिटो नेपाल पठाइने जानकारी दिँदै राजदूत राजभण्डारीले हाल हवाइसेवा बन्द रहेले उक्त सामग्री छिटो पठाउन विभिन्न वैकल्पिक उपायहरूको खोजी भैरहेको बताउनुभयो ।
युरोपियन मुलुकमा रहेका अन्य राजदूतहरूले पनि आफूमातहतका सरकारसँग सहयोगका लागि कुरा गरिरहेको र फ्रान्सलगायत अन्य युरोपेली मुलुकहरूले समेत निकट भविष्यमा इयुमार्फत सहयोग घोषणा गर्न सक्ने सम्भावना रहेको राजदुत राजभण्डारीले बताउनुभयो ।
उहाँका अनुसार हाल इयुले दिएको सहयोगमा ३० लाख मास्क, ५२ हजार ५०० पन्जा, ३० हजार गाउन, २० हजार एन्टिजेन किट र १४ थान भेन्टिलेटर रहेका छन् । यसभन्दा अगाडि पनि युरोपियन युनियनले करिव २८ करोड रकमबराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
प्रतिक्रिया