आपतकालीन स्वास्थ्य-राहतबारे प्रवासस्थित नेपाली दूतावास तथा एनआरएनलाई सुझाव
- डिल्ली अम्माई/ बेल्जियम

एउटा प्राणको मूल्य अकल्पनीय हुन्छ । दैविक विनासमा परेका सबै तहका सभ्यताको पुननिर्माण हुन सक्छ तर मानिसको प्राणको पुनरावृत्ति असम्भव छ । अहिले नेपालमा फैलिइरहेको महामारीले धेरै मानिसको प्राण लिइरहेका खबरहरू निरन्तर आइरहेका छन् । मानिसहरू महामारीको प्रकोपले आत्तिएका छन् । मारिने भयले नेपाल कोलाहलमय छ । अस्पतालले बिरामीको चाप धान्न सकिरहेको छैन । त्यसमा पनि अक्सिजनको अभावका कारणले धेरैको ज्यान गइरहेको खबरले प्रवासमा रहेका नेपालीहरूको मन छियाछिया भैरहेको छ ।
मुलुकबासीमाथि परेको अकल्पनीय अवस्थामा प्रवासमा रहेका नेपाली र राजदूतावासहरूको समेत महत्वपूर्ण भूमिका हुने कुरामा कुनै सन्देह रहन्न । त्यसैले यो अवस्थामा विदेशस्थित नेपाली कुटनैतिक निकाय वा दूतावासको प्रथम कर्तब्य भनेको आफ्नो कार्यक्षेत्रभित्र रहेका नेपालीहरूको जीवनरक्षाको लागि प्रत्यक्ष तथा परोक्ष रूपले सहयोग पुऱ्याउनु रहेको हुन्छ । त्यसपछि आफ्नो कार्यक्षेत्रमा बसेर कानुनी झमेलाले मातृभूमि फर्कन रोकिएका, प्रवासमा आपतकालीन उडान बन्द भएर बिचल्लीमा परेकाको उद्दार, प्रवासमा मृत्यु भएर मृतशरीर परिवारको जिम्मा लगाउने कार्यमा सहजताको लागि समेत दूतावासको भूमिका महत्वपूर्ण हुन्छ ।
अझ महामारीको यो निर्मम अवस्थामा दूतावासले कार्यक्षेत्रका आफ्ना नागरिकहरूको अवस्थाबारे जानकारी राख्दै आवश्यक सुचनाहरू प्रवाह गरिरहनु पर्दछ । त्यसले आफ्ना नागरिकहरूलाई एक प्रकारको मनोवैज्ञानिक ढाडस दिन्छ । भनिन्छ- उपयुक्त समयमा एउटा सही सूचनाको मूल्य मानव जीवनको मूल्य जत्तिकै महत्वपूर्ण हुन्छ । मानिसलाई जीवन र उसको भविष्यप्रति आशावादी बनाउन राज्य वा राज्यको माताहतका नियोगहरूको सूचना प्राणदायिनी रहन्छ । निराश प्रोपोगाण्डाकोहरूको आँधीले जीवनको सत्यनास पार्दछ भने सत्य सूचनाहरूले अफवाहबाट सृजित भ्रम चिरेर मानिसलाई अज्ञात भ्रम, भय र आतंकबाट बचाउँछ ।
आफ्नो देश र देशबासीको हितलाई मध्यनजर गरेर संसारका धेरै देशहरूमा नेपाली दुतावासहरू खोलिएको छ । ती दूतावासहरूले अन्तराष्ट्रिय संघ-संस्थाहरूलाई मुलुकमा आपतविपद परेको बेला सहयोग माग्ने मात्र काम गर्दैनन, सहज अवस्थामा आफ्नो देशमा लगानी भित्र्याउन विदेशस्थित कम्पनीहरूलाई आग्रह समेत गर्दछन् । एनआरएनहरूको श्रम, सिप हस्तान्तरण गर्ने र छरिएको पुँजीलाई मुलुकमा सामुहिक लगानी गर्नेत्रगराउने उत्प्रेरकको भूमिका खेल्ने काममा कतिपय राजदूतावासहरूले काम गरिरहेका छन् ।
अहिले नेपाल महामारीको आतंकले मर्माहत छ । यतिखेर देशले प्रवासी नेपाली, मित्रराष्ट्र तथा आफ्ना नियोगलाई आपतकालीन सहयोग गर्न वा सहयोगको पहल गरिदिन आग्रह गरिरहेको छ । यो अवस्थामा राजदूतावासले सेवाको जिम्मेवारी दिने मुलुकप्रति समेत आपतकालीन अवस्थामा सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । मध्यपूर्वगायत अफ्रिकामा समेत नेपालीहरूले नेपालमा अक्सिजन सिलिन्डर पठाएर आफ्ना बन्धुहरूको जीवन रक्षाको निम्ति लागिसकेका छन् । एनआरएनए बेल्जियमका महासचिव तिर्थ धमलाले जारी गरेको प्रेस नोटअनुसार यो संस्था पनि मानवीय सहयोगमा युद्धस्तरले जुटेको छ । त्यस्तै बेलायत लगायत संसारभरिका एनआरएनहरू आफ्नो देशले भोगिरहेको मानवीय संकटकालमा सक्दो सहयोग गर्न सल्बलाइरहेका छन् ।
वर्तमान अवस्थामा मानिसको जीवनरक्षाको विकल्प अर्को कुनै पनि परोपकारी सेवा हुन सक्दैन । जीवनरक्षाको आपतकालीन अवस्थामा सामान्य नागरिकले समेत अवैतानिक राजदूत बनेर असहाय नागरिकको सेवामा लागिरहेको सन्दर्भमा वैतनिक राजदूतहरूको दायित्व झन् महत्वपूर्ण रहन्छ । यसैकारण गत वैशाख ३१ गते महामारीमा मानवीय राहत सेवा लगायत विविध विषयहरूमा केन्द्रित रहेर बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्ग)का लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले बेल्जियमस्थित एनआरएनएका पदाधिकारीसँगै पत्रकारहरूको बीचसमेत एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम गरे । जसलाई दूतावासको मानवीय सेवामा सकारात्मक पहलको रूपले हेरिएको छ ।
मानवीय संकटको बेला विदेशस्थित राजदूतहरूको भूमिका :
विदेशनीति र ग्लोबल गभर्नन्सको मुख्य साधन हो कूटनीति, जसले आफ्नो राज्यसँग सम्बन्धित व्यापक लक्ष्य र रणनीतिहरूको प्रतिनिधित्व गर्दछ । राजदूतमार्फत गरिने कुटनैतिक सम्बन्ध वा सम्पर्कले विश्वमा आफ्नो देश बाहेकका बाँकी राज्यको अन्तर्क्रियालाई मार्गदर्शन समेत गरेको हुन्छ । अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, गठबन्धन, अन्तर्राष्ट्रिय लगानी अन्तरघुलन र विदेशनीतिको विविध अभिव्यक्तिहरू प्रायः कुटनीतिक वार्ता र सम्बन्ध प्रक्रियाहरूका परिणाम हुन् । राजदूत तथा कूटनीतिज्ञहरूले पनि सरकारी अधिकारीहरूलाई सल्लाह दिएर राज्यको विदेशनीति बनाउन सहयोग गर्न सक्दछन् भने आफ्नो देशलाई विपद परेको बेला संसारभरिबाट दयालु हातहरूमार्फत आफ्ना नागरिकहरूको दुःखलाई कम गर्ने पहल गर्न सक्छन् ।
महामहिम राजदूतहरूले आफ्नो उर्जालाई देश र जनताको हितमा प्रयोग गर्दा पनि सम्बन्धित देशको कानुनी मर्यादा, कार्यरत सांस्कृतिक तथा सम्बन्धित देशको सभ्यताको विरासतले निर्माण गरेका मान्यताहरूलाई समेत ध्यान दिनु अनिवार्य हुन्छ । अमेरिकालगायत विश्वका कतिपय आर्थिक र सामरिक शक्तिसम्पन्न देशका राजदूतहरूले कार्यरत देशका मान्यता र कानुनहरूको बेलाबेलामा अपहेलना गरिरहेका गुनासाहरू आउने गरेका छन् । त्यो शक्तिको दम्भको कारणले जानाजान गरिएका अपहेलना आफ्नो ठाउँमा आलोच्य भए पनि सामान्यतया राजदूतले कुनै पनि देशको राजनीतिमा हस्तक्षेप गर्ने नियतले अरुको भूमि प्रयोग गर्न पाउँदैनन् ।
आधारभूत सामान्य ज्ञान भएका जो–कोहीलाई थाहा हुन्छ कि कुनै देशका राजदूतले राज्यको प्रतिनिधि भएर आफ्नो कुटनैतिक भूमिकालाई सर्वपक्षीय रूपमा कानुनको अधिनमा राखी आफ्नो उच्च ओहदासँगै सम्मानको आनन्द लिन्छन् र महत्त्वपूर्ण जिम्मेवारीहरूलाई मर्यादित तरिकाले पालना गर्दछन् । कूटनीतिक सम्बन्धको बारेमा भियना सम्मेलनले दूतावासका निश्चित कार्यहरू तोकेको छ, जसमा राजदूतले आफ्नो देशको प्रतिनिधित्व गर्ने, रोजगारदाता देशका नागरिकहरूको संरक्षण गर्ने, वार्ता गर्ने, कार्यरत देशको स्थितिको निर्धारण गर्ने तथा मातृभूमि र कार्यरत देशबीच मैत्री सम्बन्ध बढावा दिने कामहरू समावेश छन् । तीमध्ये एक इन्च पनि निहित रूपमा राजदूतले कार्यरत देश र तेस्रो देशबीचको सम्बन्ध बिगार्न पाउँदैन ।
हामीलाई थाहा छ कि महामारीको कारण भारत, ब्राजिल लगायत हाम्रो देश पनि आर्थिक तथा मानवीय रूपले आक्रान्त छ । विश्वमा सबैभन्दा बढी जनसंख्या भएको भारत, ब्राजिल, अमेरिका लगायतका देशसँगै नेपाल पनि कोभिडको प्रकोपले थला परेको छ । यसकारण हामी चिन्तित छौँ र निष्ठाका साथ आशा राख्छौं कि अब छिट्टै कोभिड १९ को महामारी नियन्त्रणमा ल्याइनेछ, जुन सम्पूर्ण विश्वको लागि खुशीको खबर हुने छ ।

यो डरलाग्दो घडीमा नेदरल्याण्ड्सका अमेरिकी राजदूत होइकस्ट्राले जस्तो कुनै एक देशलाई महामारी फैलाएको आरोप झोसेर अन्तर्राष्ट्रिय समाजलाई विभाजित गर्न खोज्नु राजदूतको कुटनैतिक मर्यादाभित्र किमार्थ पर्दैन । के चीनलाई बदनाम गर्ने केही झूटा अफवाहद्वारा अमेरिकीलगायत विश्वका मानिसहरूलाई भाइरसको फैलिने खतराबाट जोगाउन सम्भव छ ? कूटनीतिक सम्बन्धको बारेमा भियना सम्मेलनले तोकेका मापदण्डभित्र निदरल्याण्डस्थित अमेरिकी राजदूत होइकस्ट्राको कुटनैतिक मर्यादा पर्ने कुरा हो कि हैन वा शक्तिको दम्भमा उसले कुनै कुटनैतिक मर्यादा पालन गर्नु नपर्ने हो ? यी प्रश्नहरू अहिले कुटनैतिक क्षेत्रमा उठिरहेका छन् । त्यसैले कुटनैतिक सम्बन्ध विस्तारमा राजदूतहरूले अत्यान्त सन्तुलित भएर आफ्नो देशको विदेशनीतिअनुरूप काम गर्नुपर्ने हुन्छ । अन्यथा आफ्नो देश तथा कार्यरत देशको कुटनैतिक सम्बन्ध धरापमा पर्ने मात्र नभएर सम्बन्धले शत्रुतापूर्ण रूप लिन बेर लाग्दैन ।
अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुद बनाउदै संकट समाधानका साझा तथा आधारभूत तथ्यहरू स्पष्ट पार्ने र अन्तर्राष्ट्रिय कानुन, विशेषगरी कूटनीतिक सम्बन्ध सम्बन्धी भियना सम्मेलनको ध्यानपूर्वक अध्ययन गर्नु अघि आफ्नो देशको अपेक्षा र चुनौतीबारे आबस्यक परे साझा संयन्त्र बनाउदै आफ्नो गृहकार्य गरौँ भनेर कुटनैतिक निकायलाई निम्नानुशार मर्यादित सुझाव दिँदा अन्यथा नहोला ।
महामारीको विषयमा आपतकालीन सहयोगबारे दूतावाससंँ बहस गर्न सकिने बिषयगत प्रश्न तथा जिज्ञासाहरू :
‘अवैधानिक रूपले बसोबास गर्ने नेपालीहरूबीच काम र उपचारको मात्र नभएर भ्याक्सिन लगाउनेबारे समेत समस्या देखिएको छ । यसको हल कसरी गर्न सकिएला ? यो एक जटिल समस्या हो ।
काम नै नभएपछि खाने–बस्ने समेत समस्या हुन्छ, यहाँ किन र कसरी बस्ने वा विपदमा परेका नेपालीलाई कसरी नेपाल पठाउने ? हाम्रो लागि नेपालमा समेत एअरपोर्ट बन्द छ, स्वदेश नै फर्कन नपाउने अवस्थाको विकल्प कसरी खोज्ने ? यसमा पीडितको लागि वैकल्पिक ब्यवस्था हुने कि नहुने ? अहिलेको अवस्थामा यी प्रश्नहरूको सान्दर्भिकता अझै छ ।
सरकारले कोभिड–१९ को सङ्कंक्रमणको जोखिमलाई ध्यानमा राख्दै मे महिनाबाट पुनः लागु हुने गरी केही हप्तासम्म कोरोना संक्रमित देशबाट हवाई आगमनमा प्रतिबन्ध लगाएको छ । नागरिकहरूले बीचमा फसेका नेपालीहरूको कसरी उद्दार गर्ने ? समस्याहरू देखिएका छन् । यो विश्वव्यापी महामारी भएकाले अन्तर्राष्ट्रिय मानव अधिकारका आधारभूत सिद्धान्तको समेत पालना हुनेगरी सरकारले कूटनीतिक पहलको लागि कतिसम्म काम गर्न सक्छ ? यसको व्यवहारिक उत्तर अहिले चाहिएको हो । कोरोनाप्रभावित नेपालीको परिवारलाई सहानुभूति र सान्त्वनाले राज्यको पहुँच र अपनत्वलाई स्थापित गर्नेबारे कुटनैतिक निकायले के गर्न सक्छ ? वा नागरिक समाज र दूतावासबीच संयुक्त रूपमा काम गर्न सकिने अवस्था छ कि छैन ? यावत प्रश्नहरूबारे अहिले हाम्रा दूतावासहरू निरपेक्ष बस्न सक्ने अवस्था छैन ।
नेपालको लागि प्राविधिक, आर्थिक र स्वास्थ्यसंग सम्बन्धित विषयमा बेनेलक्सबाट गर्न सकिने सम्भाव्य सहयोगहरू के हुन सक्ला र कसरी पहल गर्न सकिएला ? यो बेल्जियमस्थित नेपाली दूतावासलाई राखिएको संवेदनशील जिज्ञासा हो । आपतकालीन राहत वा उद्दार कार्यमा एकद्वार प्रणाली ठिक हो कि हैन ? यो प्रश्न किन पनि महत्वपूर्ण छ भने भुकम्पको बेला केही कथित नेपाली अभियन्ताहरूले संकलन गरेको राहतको दुरूपयोग गरेको गुनासो सुनियो । यसरी ब्यक्तिपिच्छे सहयोग संकलन गर्दा पारदर्शिताबारे समस्याहरू देखिएको कुरा विगतले देखाएको हो । त्यसैले यसको अनुगमनमा समेत कठिनाइ हुने भएकोले सहयोग संकलनलाई पारदर्शी बनाउनेबारे खुल्ला प्रणालीको विकल्पको खोजि हुनु स्वाभाविक हो ।
महामारीसँग लड्न र नेपालमा राहत पहलको लागि संयुक्त संयन्त्र निर्माणमा जोड दिनुपर्ने प्रस्तावलाई कसरी हेर्ने ? त्यसको लागि आफ्नो कार्यक्षेत्रभित्रका प्राय सबै संघ–संस्थाको समेत समन्वयमा मृत्यु भएका ब्याक्तिको उद्दार तथा राहत लगायत नेपालमा मानवीय सहयोगको लागि बेनेलक्सको अन्तरदेशीय आधिकारिक संयन्त्र निर्माण गर्ने प्रस्ताव उपयुक्त हो कि हैन ? जस्ता जिज्ञासाहरूलाई समेत ध्यानमा राख्दै दूतावासको पहलमा नेपालको मानवीय क्षेत्रमा गर्न सकिने सहयोगलाई अझै विस्तार गर्नु आवश्यक छ ।
बेनेलक्समा अबैधानिक रूपमा बसेका नेपालीहरू कोभिड–१९ बाट पीडित भए उपचारको कुनै वैकल्पिक उपाय छ कि ? पंक्तिकारले सुनेअनुसार यहाँका केही मानवीय सँस्थाहरूले अबैधानिक आप्रवासीहरूलाई यदि कोरोनाको संक्रमण भयो भने उपचार गर्न सहयोग गर्दछन् । यदि यस्तो अवस्था आइहाल्यो भने हामीले यस्ता विकल्पहरूबारे समेत जानकारी राख्नु उपयुक्त हुन्छ ।

मृतकको शव नेपाल पठाउनेदेखि अन्य आपतकालीन यातायातको वैकल्पिक उपायबारे के गर्ने वा यसको समाधानबारे सर्वसाधारणलाई कुटनैतिक निकाय वा दूतावासले सदैव पारदर्शी सुचना दिनु उपयुक्त हुन्छ ।
अझै पनि के नेपाल पर्यटकहरूको लागि सुरक्षित गन्तब्य हो ? नेपालको पर्यटन विकासको लागि के गरेका छौँ वा महामारीपछि कसरी पर्यटन तथा ब्यापार प्रवर्धन गर्दैछौँ ? पर्यटन विकासलाई नेपालको विकासको आधार कसरी बनाउन सकिन्छ ? के बेनेलक्सबाट नेपाल पुगेका सबै पर्यटकहरू सन्तुष्ट बनेर फर्केका छन् ? पर्यटकहरू फर्केर आएपछि भेटेर प्रतिक्रिया लिने चलनले दूतावासलाई फिडब्याक मिल्ने गर्छ । हाम्रा गल्तीहरू कहाँ–कहाँ भएका छन्, त्यो थाहा हुन्छ । पर्यटन विकासमा अझै राज्य र जनस्तरबाट गर्नुपर्ने अपुग कुराहरू के के हुन् ? यी सबै कुराको छलफल, बहस र निष्कर्षमा हामीले ध्यान दिन आवश्यक छ । पर्यटन विकासमा प्रचारप्रसार महत्वपूर्ण कुरा हो । बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्ग)का लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको पहलमा युनियनअन्तर्गतको युरोपियन नागरिक संरक्षण तथा मानवीय सहयोग संचालन कार्यक्रमार्फत नेपाललाई गत बुधबार २ मिलियन युरो (करिब २८ लाख) रकम तत्काल सहयोग प्राप्त भएको जानकारी आएको छ जुन स्वागतयोग्य कदम हो ।
वर्तमान विश्व मानवले गुणस्तरमा भन्दा विज्ञापनमा बढी विश्वास गर्न थालेको देखिन्छ । त्यो भन्दैमा हामीले हाम्रा पर्यटन सम्पदाहरूको संरक्षण, सम्बर्धन र पाहुनाहरूको सुरक्षा, सेवा–सुविधाको स्तरोन्नति गर्ने कुरालाई ध्यान नदिने कुरा हुँदैन । पर्यटन विकासमा प्रचार, स्तरोन्नति र सेवामध्ये कुनै एउटा पक्षलाई गौण बनाइयो भने यसको सन्तुलित विकासमा प्रतिकुल असर पर्न जान्छ । पर्यटन बोर्ड वा सम्बन्धित मन्त्रालयले यो विषयमा गम्भीर प्रकारले सोच्नु पर्ने देखिन्छ ।
खैर, अहिले महामारीबाट प्रताडित नेपालीको जीवन महत्वपूर्ण भए पनि महामारीपछि देशको समृद्धि अभियानमा ब्यापार प्रवर्धन गर्ने, बेनेलक्समा नेपालबाट गरिने आयातको सम्भाव्यतालाई प्रोत्साहन गर्ने, पर्यटन ब्यवसायलाई उकास्ने कुराले महत्व राख्ने छ । त्यसैले दूतावासले आफ्नो कुटनैतिक सिमा अन्दाज गर्दै देशको आगामी वित्तीय उद्दारमा समेत चासो राख्दै नीति नियमहरूको निर्माण गर्नु आवश्यक हुन्छ ।
अन्त्यमा, दूतावासमा पनि अग्रज राजदूतहरूले छाडेर गएका कामलाग्दा अनुभवहरू हुन्छन् । अग्रज राजदूतहरूले शुरु गरेका मुलुकको लागि काम लाग्दा योजनाहरू हुन्छन् । सम्बन्धका आधारहरूको लामो श्रृङ्खला हुन्छ । त्यो भनेको नयाँ राजदूतको लागि एउटा लाइब्रेरी भन्दा पनि महत्वपूर्ण सम्पदा हो । त्यसैले त्यो अग्रजहरूका अनुभवहरूको आधारलाई लिएर नै नयाँ राजदूत वा नियोग प्रमुखले आफ्नो देशलाई सही सेवा प्रदान गर्न सक्छ । नेपालमा निदरल्याण्ड तथा लग्जेम्बर्गका केही ब्यवसायिक कम्पनीहरूमार्फत नेपालमा लगानी भित्र्याउन ब्रसेल्सस्थित निवर्तमान नेपाली राजदूत लोकबहादुर थापाले महत्वपूर्ण प्रयास गर्नुभएको थियो । तर दुर्भाग्य कोरोना महामारीको प्रकोपले उहाँको त्यो प्रयासले परिणाममुखी नतिजा दिन नसके पनि ती छुटेका प्रयासलाई नयाँ राजदूतले जोड्न सक्नुहुन्छ । त्यस्तै दूतावाससँग तिक्तता साँधेर बसेको नेपाली समाजलाई लोकबहादुर सरले धेरै हदसम्म जोडेर जानुभयो । त्यसैले भनिएको होला राजदूत भनेको अन्तराष्ट्रिय सरकारसँग सम्बन्ध जोड्ने, लगानी भित्र्याउने, पर्यटन प्रवर्धन गर्ने र बाणिज्य सम्बन्ध बनाउने नेतृत्व मात्र हैन, उसले आफ्नो समाजभित्र पनि आफ्नो नेतृत्वदायी भूमिकालाई विश्वासिलो, मर्यादित र अविछिन्न बनाउँछ । समाज एकताको सेतु बनेर सबैलाई जोड्ने काम गर्दछ । अस्तु ।
प्रतिक्रिया