माधव नेपालले राष्ट्रियसभा निर्वाचनमा बादललाई साथ दिने ?!

माधव नेपालले राष्ट्रियसभा निर्वाचनमा बादललाई साथ दिने ?!



नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई ‘पूर्ण सहयोग रहने’ आश्वासन दिएका छन् । कोटेश्वरस्थित नेपाल निवासमा भेट गर्न पुगेका गृहमन्त्री थापासँगको भेटमा नेता नेपालले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् ।

नेपाल-थापा भेटवार्ताका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत छलफल भएको बताइएको छ ।

तर, माधव नेपालका प्रेस सहयोगी मोहन गौतमले रामबहादुर थापालाई सहयोग गर्न नेता नेपाल तयार भएको भन्ने कुरा अफवाह मात्र भएको बताएका छन् । नेता नेपालसँग भेट गर्न बादल कोटेश्वर आएको जानकारी दिँदै गौतमले दुई नेताबीच मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा मात्रै सहमति भएको उल्लेख गरेका छन् । खिमलाल देवकोटालाई आफैले उम्मेदवार बनाएकोले थापालाई सहयोग गर्न नसक्ने नेपालले प्रष्ट पारेका गौतमले सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन (वाग्मती प्रदेश) हुँदै छ । नेकपा (एमाले) का तर्फबाट गृहमन्त्री थापा उम्मेदवार बनाइएका छन् । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा. खिमलाल देवकोटा उम्मेदवार छन् ।

गृहमन्त्री थापा नेकपा (एमाले) मा गएपछि नेकपा (माओवादी केन्द्र) का सिफारिशमा उनी पदमुक्त भएका थिए ।