जनसम्पर्क समितिद्वारा सहयोग रकम संकलन कार्यलाई तीव्रता

जनसम्पर्क समितिद्वारा सहयोग रकम संकलन कार्यलाई तीव्रता


  • सनत आचार्य, बेल्जियम

नेपाली काङ्ग्रेसद्वारा कोभिड-१९ महामारीको रोकथाम र उपचार प्रयोजनका लागि विदेशस्थित जनसम्पर्क समिति र यससँग जोडिएका अन्य संघ-संस्थाहरूबाट आर्थिक सहयोगको अपेक्षा गरेसँगै नेपाली जनसम्पर्क समिति बेल्जियमले आर्थिक रकम संकलन कार्यलाई तीव्रता दिएको छ ।

जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले जनसम्पर्क समिति र अन्य संघ-संस्थासँग गरेको आग्रहपश्चात सोमबारदेखि रकम संकलन गर्न थालिएकोमा हालसम्म करिव ६ लाख रकम संकलन भइसकेको र १-२ दिनभित्र थप सहयोग रकम जुट्न सक्ने बताउनुभयो ।

अध्यक्ष सापकोटाका अनुसार मे १७ मा केन्द्रको परिपत्रअनुसार जनसम्पर्क समितिको बैठकमा सहयोग रकम संकलन गर्ने निर्णय भएपश्चात विभिन्न व्यक्तिबाट रकम संकलन गर्न सहयोग उपलब्ध भएको छ ।

बताइएअनुसार रविन पण्डितले एक लाख १० हजार र सीपी भट्ट, पदम गुरुङ र सापकोटा स्वयंले जनही एक–एक लाख सहयोग गरेका छन् ।

अध्यक्ष सापकोटाले संकलित रकम केन्द्रले अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्री खरिद गरी आवश्यकताअनुसार विभिन्न जिल्ला वा स्थानमा वितरण गरिने जानकारी दिनुभयो ।

यसैगरी नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका, अन्तर्राष्ट्रिय संयोजक गंगाधर गौतमले पनि आफूमातहतमा हालसम्म १५ लाख रकम जम्मा भइसकेको बताउनुभएको छ ।

उहाँले आफूहरूले काङ्ग्रेस केन्द्रीय समितिले परिपत्र गर्नुभन्दा एक हप्ताअगावै सहयोग रकम संकलनको थालनी गरेको जानकारी दिँदै पार्टीको निर्देशनले यसलाई अझ व्यापकता दिन सहयोग पुगेको उल्लेख गर्नुभयो ।

संयोजक गौतमले संकलित सहयोग रकम अबको १० दिनभित्रमा केन्द्रीय समितिमा दिइसक्ने बताउँदै यो मानवीय अभियानमा विश्वभर गठन भएका प्रशिक्षणका शाखाहरूमार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी-बहिनाीहरूले सहयोग गर्न सक्ने भएकोले सहयोगका लागि हार्दिक अनुरोध गर्नुभएको छ ।

रकम सहयोग गर्न चाहनुहुने महानुभावहरूले सिधै केन्द्रीय समितिको खातामा रकम जम्मा गर्न सक्ने वा प्रवासमा रहेका प्रतिष्ठानका शाखा प्रमुखहरूमार्फत पनि सहयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

नेपाली काङ्ग्रेसका सदस्यलगायत केही शुभेच्छुहरुले भने यसरी दुईतिर आर्थिक सहयोग गर्दा आफूहरूलाई मर्का परेको बताएका छन् । नाम उल्लेख गर्न नचाहने एक शुभचिन्तकले भने- ‘एनआरएनए, प्रवास समिति, जनसम्पर्क समिति आदि नाममा बेग्लाबेग्लै आर्थिक सहयोग गर्दा आफै पीडित बन्ने अवस्था पो आउन लाग्यो !’

सङ्कटको यो बेला नेपाल र नेपालीलाई सहयोग गर्नु हामी सबैको मानवीय धर्म हो भन्दै उनले सहयोगको नाममा अनेक संघ-संगठनले आग्रह गर्दा आर्थिक मन्दीका बेला आफूजस्ता थुप्रै व्यक्ति मारमा परेको गुनासो गरे ।