भारतमा कोभिड-१९ बाट एकै दिनमा ४,५२९ जनाको मृत्यु

भारतमा कोभिड-१९ बाट एकै दिनमा ४,५२९ जनाको मृत्यु



कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति ब्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएअनुसार मङ्गलबार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित थपिएका छन् ।

गएको केही दिनयता भारतमा कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको भएयता पनि सोमबारको तुलनामा मङ्गलबार केही बढी सङ्क्रमित भएका छन् ।

भारतमा सोमबार कोरोना सङ्क्रमितको संख्या २ लाख ६३ हजार जना मात्र थियो भने मङ्गलबार पुनः २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित भएका छन् । गत सोमबार कोरोना सङ्क्रमितको यो संख्या गत अप्रिल २१ तारिखपछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको थियो ।

बताइएअनुसार विगत २४ घण्टामा दुई लाख ६७ हजार ३३४ जना नयाँ संक्रमित भेटिएका हुन् । अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो ।

मन्त्रालयले बुधबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ८३ हजार २४८ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड-१९ संक्रमितको कूल संख्या दुई करोड ५४ लाख ९६ हजार ३३० पुगेको छ ।

भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ ।