अष्ट्रियामा लामो समयपछि लकडाउन पूर्ण रुपमा अन्त्य

अष्ट्रियामा लामो समयपछि लकडाउन पूर्ण रुपमा अन्त्य


चेन ब्रेकका लागि अर्को सूचना नआएसम्म सतर्कता अपनाउनु पर्ने

  • प्रतीक्षा सुवेदी खड्गी, अष्ट्रिया

कोरोनाको अत्यधिक संक्रमणका कारण गत वर्षको नोभेम्वरदेखि बन्द रहेको अष्ट्रिया आज (१९ मे) बाट पूर्ण रुपमा खुला गरिएको छ । बन्दाबन्दी खुल्ला गरिए पनि अनुशासित जीवन जिउनका लागि यहाँका अधिकारीहरुले आमनागरिकलाई आग्रह गरेका छन् ।

कोरोना कहरका कारण बाध्यतावश सम्पूर्ण व्यवसाय पूर्ण रुपले बन्द गर्नु परेको थियो भने यसको कारण राज्यले अर्थतन्त्रमा आंशिक क्षति ब्यहोरिरहेको छ।

अष्ट्रियामा पछिल्लो समयमा कडा लकडाउनसँगै खोप कार्यक्रमलाई पनि प्रभावकारी तवरले सञ्चालन गरिँदै आइरहेको छ। मुलुकभित्र दैनिक करिव ३० हजार भन्दा माथि नागरिकले खोप पाउँदै आएका छन् । करिव ८५ लाख जनसंख्या रहेको अष्ट्रियामा ३५ प्रतिशतभन्दा बढी नागरिकहरुले खोपको मात्रा पाइसकेको जनाइएको छ भने भिन्न भिन्न संघीय राज्यहरुले आफ्ना राज्यमा कोरोनाबाट बच्न प्रभावकारी उपायका अवलम्बन गर्दै आइरहेका छन् ।

संक्रमणको पछिल्लो लहरमा दैनिक करिव दश हजारसम्म नयाँ संक्रमण देखिएको अष्ट्रियामा आजका दिनसम्म आइपुग्दा दैनिक ५ देखि ७ सयको हाराहारीमा संक्रमण देखिँदै आइरहेको छ । विश्वकै उत्कृष्ट स्वास्थ सेवा दिने मुलुक भनेर चिनिएको अष्ट्रियाले पछिल्लो महिना २०२२ का लागि भनेर करिव ४२ मिलियन डोज कोरोनाविरुद्धको खोपका लागि फ़ाइजर, मोर्डना र अस्ट्राजेनासँग दोहोरो हस्ताक्षर पनि गरिसकेको छ ।

अष्ट्रियाले कडा लकडाउन खोले तापनि केही मापदण्डको पालनाचाहिँ गर्नुपर्ने जनाएको छ । जसमा रेस्टुरेन्ट या होटेलका लागि (तिन जी) निको भएका, खोप लिएका या हालसालै टेस्ट गरेका (टेस्ट गरेकाहरुमा पिसिआर ७२ घण्टा सम्म र Antigen ४८ घण्टा) हरुले प्रवेश गर्न पाइने, १० स्क्वाएर मिटरमा एक व्यक्ति भन्ने अवधारणा (चाहे पौडी पोखरी होस् या सपिङ कम्प्लेक्स) ल्याइएको छ । अस्पताल या नर्सिङ होमहरूमा कार्यरत स्वास्थ्यकर्मीहरुले हप्तामा एक पटक टेस्ट गर्नुपर्ने र सोही नियम स्कुलहरुमा पनि लागु गरिएको छ ।

लकडाउनका समयमा बेलुका ७ देखि बिहान ७ बजे अत्यावश्यक कारणबिना घरबाट बाहिर निस्किन नपाइने भन्नेमा अब बेलुकी १० देखि बिहान ५ बजेसम्म घरबाट बिनाकाम ननिस्कनका लागि नागरिकहरुमा आग्रह गरिएको छ ।

Representative image