बाग्मती प्रदेश राष्ट्रियसभा सदस्यमा बादललाई हराउँदै देवकोटा विजयी

बाग्मती प्रदेश राष्ट्रियसभा सदस्यमा बादललाई हराउँदै देवकोटा विजयी


पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका साथ लिइएको एमालेको भनाइ


बाग्मती प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा आधिकारिक उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै माधव नेपाल पक्षको उम्मेदवार डा. खिमलाल देवकोटा विजयी बनेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा खडा भएका देवकोटालाई नेपाली कांग्रेस, माओवादी, जसपालगायतले समर्थनसहित मतदान गर्ने निर्णय गरेका थिए ।

देवकोटाले ५०८८ मतभार प्राप्त गरेका छन् भने पराजित थापाले ४०४१ मतभार प्राप्त गरेका छन् । प्रदेशसभा सदस्यतर्फ ५८ जनाले देवकोटालाई, ४५ जनाले थापालाई र दुई जनाले तामाङलाई मतदान गरेका जताइएको छ । प्रदेशसभा सदस्य एक जनाको मत बराबर ४८ र स्थानीय तहको प्रमुख र उपप्रमुखको मतमध्ये १८/१८ मतभार रहेको छ ।

ज्ञातव्य छ, राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेबाट गृहमन्त्री थापा र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षले डा‍‍‍. देवकोटालाई उम्मेदवार बनाएको थियो भने नेपाल मजदुर किसान पार्टीले कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको थियो ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकले बिहीबार बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका साथ लिँदै भत्सर्ना गरेको छ ।