जसपा कार्यकारिणी समिति बैठक स्थगित, सिंहदरबारमा ठाकुरपक्षीय संसदीय दलको बैठक

जसपा कार्यकारिणी समिति बैठक स्थगित, सिंहदरबारमा ठाकुरपक्षीय संसदीय दलको बैठक



जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगन गरेका हुन् ।

कोभिड–१९ बढ्दो महामारीको कारणले जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक अर्को सूचना नभएसम्म स्थगन गरिएको ठाकुरको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि जेठ ४ गते सूचना जारी गर्दै सो मितिमा बैठक बस्ने जनाइएको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने एकतर्फी रुपमा बैठक स्थगन गरिएकामा आपत्ति जनाएको छ ।

यसअघि ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी नभई आफ्नै दलका नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने र नभए प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्ने सहमति भएको जनाएका थिए ।

यसैबीच अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक शुक्रबार सिंहदरबारमा बसेको छ । उक्त बैठकका सम्बन्धमा यादव र डा. भट्टराई पक्षलाई जानकारी नगराइएको जनाइएको छ ।

ज्ञातव्य छ, ठाकुर-महतो समूहले संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयनसमेत गरिसकेको छ । सो पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ ।