प्रतिनिधिसभा विघटन, निर्वाचन कात्तिक २६ र मङ्सिर ३ गते

प्रतिनिधिसभा विघटन, निर्वाचन कात्तिक २६ र मङ्सिर ३ गते


एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको दाबी नपुग्ने ठहर


मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा गएराति सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई उद्धृत गर्दै राससले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिनुभएको समयमा परेका दुवै दाबी खारेज गर्नुभएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको थियो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालयले गए राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दाबी नपुगेको कुरा जनाइएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेकपा (एमाले)का १२१ र जनता समाजवादी पार्टी नेपालका ३२ सदस्यको समर्थन प्राप्त भएको दाबी गरे पनि एमालेका २६ र जसपाका १२ जनाले अर्का दाबीकर्ता कांग्रेस सभापति देउवालाई हस्ताक्षर गरेको देखिएको जनाइएको छ । त्यस्तै, सभापति देउवालाई कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर भए पनि एमाले र जसपा पार्टी र संसदीय दलका अध्यक्षका तर्फबाट आफ्ना दलका सदस्यको सो हस्ताक्षरलाई अस्वीकृत गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दाबीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।