आफ्नो लाइन ‘सही’ सावित भएको भन्दै विप्लवले गरे यस्तो अपिल

आफ्नो लाइन ‘सही’ सावित भएको भन्दै विप्लवले गरे यस्तो अपिल



‘वैज्ञानिक समाजवाद’ रोज्ने कि दलाल पुँजीवाद ? जनमतसङ्ग्रहबाट टुङ्गो लगाऔँ’

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राजनीतिक सङ्कटको निकास जनमतसङ्ग्रहद्वारा खोजिनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीबाट संसद् विघटन गरी निर्वाचनको घोषणा गरिएको सन्दर्भबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै महासचिव विप्लवले आजको विशिष्ट स्थितिमा ‘वैज्ञानिक समाजवाद’ वा ‘दलाल पुँजीवाद’ रोज्ने अधिकार जनमतसङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्ने बताएका हुन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीले २०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खाँदैन, यो सफल हुँदैन भन्दै आएकोमा यो निष्कर्ष सही सावित भएको दाबी गरेका छन् ।

संसद् विघटन र मध्यावधि चुनावको विषयलाई ‘राष्ट्रिय महत्वको विषय’ भन्दै महासचिव विप्लवले निम्न पाँच बुँदामा नेकपाको धारणा अघिसारेका छन्-

१) २०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खाँदैन, यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही सावित भएको छ ।

२) शान्ति, स्थिरता एवम् समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो । यो सत्ता र व्यवस्थाको सङ्कटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र सङ्टमा धकेल्ने चाल मात्र हुन्छ ।

३) दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको सङ्कटको निकास निर्विकल्प रूपले वैज्ञानिक समाजवाद मात्र हुन सक्छ भन्ने हाम्रो विचार सही सावित भएको छ । यो आज पार्टीको मत, जनताको माग र चाहनासँग जोडिएको छ ।

४) राज्यको सङ्कटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ । त्यो भनेको आजको विशिष्ट स्थितिमा ‘वैज्ञानिक समाजवाद’ वा ‘दलाल पुँजीवाद’ रोज्ने अधिकार जनमतसङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसङ्ग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौँ ।

५) जनमतसङ्ग्रहको निकास कुनै पार्टीविशेषको विषय नभएर देश र जनताका लागि दीर्घ शान्ति, स्थिरता, स्वाधीनता एवम् समृद्धिसँग जोडिएको विषय भएकाले यसका पक्षमा एकताबद्ध भएर उत्रिन हामी सबै प्रगतिशील, देशभक्त, वामपन्थी, कम्युनिस्ट पार्टी, शहीद तथा बेपत्ता योद्धा परिवार, घाइते योद्धा, मजदुर, किसान, महिला, दलित, जनजाति, युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, वकिल, पत्रकार साथै पार्टीका नेता-कार्यकर्तालाई विशेष अपिल गर्दछौँ ।