राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय


पाँच दलीय गठबन्धनले पनि कानुनी उपचार खोज्ने

नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाउँदै नेकपा (माओवादी केन्द्र)ले त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकार पक्षसँग मिलेर संयुक्त संघर्ष गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन र कोरोना कहरमा गरिएको चुनाव घोषणा असंवैधानिक र निरंकुश भएको बैठकले ठहर गरेको प्रवक्ता श्रेष्ठले बताए । उनले गत पुस ५ गतेजस्तै प्रधानमन्त्रीले संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गरेको र नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै पनि राष्ट्रपतिले त्यसलाई ध्यान दिन नसकेको आरोप लगाउँदै त्यसविरुद्ध अग्रगमनका पक्षधरसँग एकताबद्ध भई राजनीतिक र कानूनी संघर्ष अगाडि बढाउने निर्णय गरिएको जानकारी दिए ।

यसै क्रममा कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनका नेताहरुबीच शनिबार बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मिलेमतोमा असंवैधानिक कदम चालिएको र त्यसविरुद्ध आज आइतबार या सोमबारसम्ममा सामूहिक रिट लिएर अदालतमा जाने निर्णय गरेको छ ।

pict:rss