देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग बोकी विपक्षी गठबन्धन आज अदालत जाँदै

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग बोकी विपक्षी गठबन्धन आज अदालत जाँदै


प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर आइतबार नै जुटेको दाबी गरिएको छ ।

बताइएअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्ने १४९ सांसदले रिट निवेदनमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरका साथ उनीहरूको नागरिकताको प्रतिलिपिलगायत कागजात सङ्कलन गरिएको र सङ्कलित हस्ताक्षरसहितको रिट निवेदन लिएर आज सोमबार सर्वोच्च अदालतमा दर्ता गर्ने तयारी गरिएको विपक्षी समूहका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिएका छन् । भौतिक रूपमा उपस्थिति जनाउँदै अदालतमा रिट लिएर जाने तयारी भएको उनको भनाइ छ ।

विपक्षी दलहरूले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने निर्णय गरिसकेकाले सोहीअनुसार कदम चाल्ने नेपाली कांग्रेसका नेता रमेश लेखकको भनाइ छ । त्यस्तै एमालेका विपक्षी नेता घनश्याम भुसालले प्रतिनिधिसभालाई जीवन्त बनाउन आफूहरूले संसदीय मर्यादाभन्दा बाहिर जानु परेको स्वीकार गर्दै पार्टीभित्र देखिएको खराब प्रवृत्ति रोक्न देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नु परेको जिकिर गरेका छन् ।

pict:rss