किन बस्दैछ आज एमाले स्थायी कमिटी बैठक ?

किन बस्दैछ आज एमाले स्थायी कमिटी बैठक ?



सत्तारुढ दल नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने जानकारी दिएका छन् । बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई स्पष्टीकरण पनि सोधिने उनले बताए ।

‘विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्छ, ती हस्ताक्षर गर्नेलाई थप स्पष्टीकरण सोधिने छ’, पूर्वमन्त्रीसमेत रहेका नेता तामाङको भनाइ छ ।

यही जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको स्पष्टीकरण पेश गर्न आज अन्तिम समयसीमा तोकिएको छ । यदि चित्तबुझ्दो स्पष्टिकरण नआएमा कस्तो कारवाही अघि बढाउने भन्ने तय गर्नका लागि आजको बैठक विशेष महत्वको रहने अनुमान गरिएको छ ।