भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने दाबी

भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने दाबी



भारतमा आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने दाबी गरिएको छ ।

भारतको चर्चित तथा प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा. नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने दाबीसमेत गरेका छन् । ‘भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ, खोपको उत्पादन र खोप लगाउने अभियान तीव्र रुपमा भइरहेको छ’, उनले भनेका छन् । वरिष्ठ चिकित्सक त्रेहानले भारतलाई कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने ‘हब’ समेतको संज्ञा दिएका एएनआईले जनाएको छ ।

भारतको जनसङ्ख्या पनि अति धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने भएको उनको भनाइ थियो ।

सामान्यतया हरेक व्यक्तिले ६ महिनामा खोपको दुवै मात्रा लगाउन सक्ने र आठ हप्तामा खोपले पूर्ण रुपमा काम गर्न थाल्ने जानकारी पनि उनले दिएका छन् ।

झण्डै ६० करोड मानिसलाई खोपले पूर्ण रुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति पनि धेरै कम हुने, महामारी न्यून हुने डा. त्रेहानले विश्वास व्यक्त गरेका छन् ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना भाइरसको सङ्क्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने व्यक्तिको सङ्ख्या बढी छ ।

दैनिक मृत्युदरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा चार हजार १५७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको उल्लेख छ । योसहित भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्यान गएको छ ।