भारतले पहिलो पटक निजी क्षेत्रको अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण

भारतले पहिलो पटक निजी क्षेत्रको अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण


भारतको पहिलो निजी क्षेत्रले निर्माण गरेको ‘अर्बिटल रकेट’ले शनिबार (१८ जुलाई) आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिरहेको भारतका लागि ठूलो उपलब्धि हो ।

‘स्काईरुट एरोस्पेस’ले निर्माण गरेको विक्रम-१ रकेटले सानो उपग्रहहरूलाई पृथ्वीको सतहबाट दुई हजार किलोमिटर टाढा वा तल्लो कक्षमा पुऱ्याउने लक्ष्य राखेको छ । यो रकेट शनिबार भारतको श्रीहरिकोटास्थित सतिश धावन स्पेस सेन्टरबाट ठूलो खुशी र जय जयकारबीच प्रक्षेपण गरिएको थियो ।

‘हेलो स्पेस, हामी आइपुग्यौँ !’ स्काईरुट एरोस्पेसले एक्समा उडानको सफलतापछि गरिएको पोस्टमा लेखेको छ । ‘विक्रम-१ को परीक्षण उडान-१ ले आफ्नो अभियान पूरा गरेको छ । भारतीय निजी क्षेत्रको पहिलो अर्बिटल प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको छ ।’

विक्रम–१ रकेट सात तले भवन बराबरको उचाईको छ र यसले ३५० किलोग्राम (७७१ पाउन्ड) सम्मको भार (पेलोड) बोक्न सक्छ ।

‘इन्डियन नेशनल स्पेस प्रमोशन एन्ड अथोराइजेसन सेन्टर’का अध्यक्ष पवन गोएन्काले यो उपलब्धिलाई ‘भारतीय निजी कम्पनीको पहिलो अर्बिटल प्रक्षेपणका लागि अपेक्षा भन्दा धेरै राम्रो’ भएको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस प्रयासलाई ‘भारतको अन्तरिक्ष यात्रामा एउटा ऐतिहासिक क्षण’को संज्ञा दिएका छन् । ‘हाम्रो निजी क्षेत्रको बढ्दो सहभागिताले नयाँ क्षितिज खोलिरहेको छ र नवप्रवर्तनलाई तीव्रता दिइरहेको छ, यो उपलब्धिले असङ्ख्य युवाहरूलाई ठूलो सपना देख्न र निडर भएर नवप्रवर्तन गर्न प्रेरित गर्नेछ’, प्रधानमन्त्री मोदीले भने ।

यो रकेटले विभिन्न प्रकारका पेलोड बोकेको छ, जसमा ल्याबमा उत्पादित हीरा र अन्तरिक्षको फोहोर हटाउन सक्ने रोबोटिक उपकरणहरू छन् ।

अर्बिटल रकेटले १८ क्यारेटको सानो सुनको रकेट पनि बोकेको छ जसमा भारतीय भौतिकशास्त्री विक्रम साराभाई, सी.भी. रामन र पूर्व राष्ट्रपति तथा प्रख्यात अन्तरिक्ष इन्जिनियर एपीजे अब्दुल कलामका साना मूर्तिहरू छन् ।

भारतको अन्तरिक्ष महत्वाकाङ्क्षा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)को दशकौँको लगानीमा भर परेको छ र पछिल्ला वर्षहरूमा यसले गति लिएको छ ।

करिब ८।४ अर्ब अमेरिकी डलर रहेको भारतको अन्तरिक्ष अर्थतन्त्र सन् २०२० मा निजी क्षेत्रलाई खुला गरेदेखि तीव्र रूपमा बिस्तार भइरहेको छ र अहिले यसमा ४०० भन्दा बढी अन्तरिक्ष उद्यमहरू छन् ।