फ्रान्सलाई ६–४ ले हराउँदै इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो स्थानमा

फ्रान्सलाई ६–४ ले हराउँदै इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो स्थानमा


फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरेका थिए ।

इङ्ल्यान्डले खेलको तेस्रो मिनेटमै डिक्लेन राइसको गोलबाट अग्रता लिएको थियो भने त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले र बुकायो साकाले ३७औँ मिनेटका साथै पहिलो हाफको इन्ज्युरी समयमा दुई गोल थप्दै पहिलो हाफमै इङ्ल्यान्डलाई ४–० को बलियो अग्रता दिलाए ।

दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्ने प्रयास गर्‍यो । केलियन एम्बापेले ४८औँ र ६६औँ मिनेटमा दुई गोल गरे भने ब्राड्ली बार्कोलाले ५४औँ मिनेटमा गोल गर्दै खेललाई ४–३ को अवस्थामा पुर्‍याए । तर खेलको ८७औँ मिनेटमा इङ्ल्यान्डले पेनाल्टी पायो, जसलाई बुकायो साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीलाई ५–३ को अग्रता दिलाए ।

इन्ज्युरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि गोल गर्दै अन्तर ५–४ बनाए पनि त्यसको केही क्षणपछि जुड बेलिङ्घमले इङ्ल्यान्डका लागि शानदार गोल गर्दै खेल ६–४ मा टुंग्याए ।

यसरी इङ्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थान सुरक्षित गरेको छ ।

यस्तै, फ्रान्सका कप्तान केलियन एम्बापेले यस खेलमा दुई गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्‍याएका छन् । उनले विश्वकप इतिहासमा आफ्नो २२औँ गोल पूरा गर्दै अर्जेन्टिनाका लियोनल मेस्सीको कीर्तिमानलाई उछिनेका छन् ।