सात सयभन्दा बढी पटक घुस लिएर जो राष्ट्रपति बने

सात सयभन्दा बढी पटक घुस लिएर जो राष्ट्रपति बने



दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति जुमाले सयौँपटक घुस लिएको आरोप

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् ।

पूर्व राष्ट्रपति जुमाविरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको सुनुवाइका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी लिएको समेत सयौँ काण्डमा मुछिएको बताएका छन् ।

दक्षिण अफ्रिकाको सन् २००९ देखि २०१८ सम्म राष्ट्रपति रहेका जुमा विरुद्ध भ्रष्टाचारका आरोपहरुका साथै ठगी, कर छली र सम्पत्ति शुद्धीकरण समेतका आरोप लागेका छन् । अदालतमा उनले आफूमाथि लागेका आरोप झुठा रहेको बताउँदै आफूविरुद्धका मुद्दाहरु राजनीतिक मुद्दाप्रेरित रहेको दाबी गरेका छन् ।

निलो पहिरनमा अदालतमा उपस्थित भएका ७९ वर्षीय जुमामाथि लागेका आरोपहरु प्रमाणित भए २५ वर्षसम्म जेल जानुपर्ने हुन्छ ।

जुलाई १९ सम्मका लागि मुद्दाको सुनुवाई स्थगित भएसँगै जुमाले आफ्ना समर्थकलाई अदालत बाहिर सम्बोधन गर्दै आफूले कसैसँग कहिल्यै केही नलिएको र कुनै गलत कार्य नगरेको बताएका एपीले जनाएको छ ।

जुमामाथि लागेका भ्रष्टाचारका आरोपहरु उनी राष्ट्रपति हुनुभन्दा अघिका हुन् । बताइएअनुसार यी आरोपहरु उनी सन् १९९९ देखि २००५ सम्म दक्षिण अफ्रिकाको उपराष्ट्रपति हुँदाको समयावधिका छन् ।

अभियोजकहरुका अनुसार जुमाले सन् १९९५ देखि २००५ को अवधिमा थेल्सबाट मात्र नभई विभिन्न स्रोतबाट घुस लिएका थिए । त्यस समयमा निकै लोकप्रिय उनी सत्तारुढ अफ्रिकन नेसनल कङ्ग्रेस पार्टीको प्रान्तीय राजनीतिबाट उपराष्ट्रपति पदमा पुगेका थिए ।

थेल्सविरुद्ध पनि मुद्दा दायर भएका छन् तर कम्पनीले आफूले स्वच्छ व्यवसाय गरेको दाबी गरेको छ । जुमा र थेल्स बिरुद्ध १८ वटा आरोप छन् ।

अभियोजकका अनुसार थेल्सबाट जुमाले वार्षिक करिब ४० हजार अमेरिकी डलर स्वीकारेका थिए । यसबापत जुमाले अफ्रिकी सरकारसँग हुने हतियारको बिक्रीसम्बन्धी विषयमा थेल्समाथि अनुसन्धान गर्नबाट रोक्न ‘राजनीतिक संरक्षण’ दिएका अभियोजकको भनाइ छ ।

सन् २००५ मा घुसखोरीको मुद्दा लागेपछि जुमालाई उपराष्ट्रपति पदबाट बर्खास्त पनि गरिएको थियो, तर चार वर्षपछि जुमाले पुनः दक्षिण अफ्रिकाको राष्ट्रपतिका रुपमा पुनरागमन गरेका थिए ।