काठमाडौं उपत्यकामा निषेधाज्ञा नमान्नेलाई जेलसम्म हाल्ने चेतावनी !

काठमाडौं उपत्यकामा निषेधाज्ञा नमान्नेलाई जेलसम्म हाल्ने चेतावनी !



काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर हुने जनाएको छ ।

झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड-१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुन लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गम्भीर रूपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको जानकारी दिए । पराजुलीले भनेका छन्- ‘सङ्क्रमण नियन्त्रण गर्नैपर्ने छ, आमनागरिकलाई भन्छु एक हप्ता कष्ट सहेरै भए पनि घरमै बसौँ ।’

पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ७१४ नयाँ सङ्क्रमित थपिएकामा काठमाडौं उपत्यकाका एक हजार ४९३ छन् । बढ्दो सङ्क्रमण रोक्न काठमाडौं प्रशासन कार्यालयले सूचना नै जारी गरेर कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अत्यावश्यक रहेका उल्लेख गर्दै उल्लङघन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइसकेको छ ।