कोभिड-१९ ‘उत्पत्तिको अध्ययन’लाई राजनीतिकरण नगर्न डब्ल्यूएचओको आग्रह

कोभिड-१९ ‘उत्पत्तिको अध्ययन’लाई राजनीतिकरण नगर्न डब्ल्यूएचओको आग्रह



विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड-१९ भाइरसको उत्पत्तिबारे अध्ययन राजनीतिकरणको विषय नभएको भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले बिगारेकोे सो संगठनको ठहर छ ।

जेनेभामा शुक्रबार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, ‘सम्बन्धित सबैले यस (कोभिड-१९ को उत्पत्ति)को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।’

‘यदि तपाईंले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाईं वैज्ञानिकहरूसँग सहकार्य गर्नसक्नुहुन्छ र यसबाट तपाईंले चाहनुभएको जवाफहरू प्राप्त गर्नुहुन्छ । वास्तवमा भाइरसको उत्पत्ति पत्ता लगाउन दोषारोपणरहित वातावरणको आवश्यक छ । भाइरस उत्पत्तिको विषय राजनीतिक दोष नलागेको हुनुपर्छ ।’

डब्ल्यूएचओका वरिष्ठ अधिकारीले सार्स-कोभ २ भाइरसको सम्भावित उत्पत्तिसम्बन्धी समाचार, प्रमाण वा नयाँ सामग्रीका साथ ‘सञ्चारमाध्यममा अधिक छलफल भएको’ र यो चिन्ताको विषय भएको पनि उल्लेख गरे । सबै मुलुकका सरकारहरूले सँगै मिलेर काम गर्ने र भाइरस मूल अध्ययन सफलतापूर्वक सम्पन्न गर्नका लागि वातावरण सिर्जना गर्न आह्वान गर्दै रायनले भने, ‘यस मुद्दाको वर्तमान राजनीतिकरणले डब्ल्यूएचओलाई जवाफ दिन कठिन बनाएको छ ।’

भाइरसको उत्पत्ति पत्ता लगाउन धेरै अध्ययन र बहुअभियानहरू आवश्यक पर्दछन् यसका लागि सहयोग, खुलापन र समय आवश्यक रहेको उनको भनाइ उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।