विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु



भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको ज्यान गएको बताइएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा विषाक्त मदिराबाट व्यक्तिहरु मारिएका हुन् ।

उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमिटर टाढा रहेको सो गाउँमा उक्त दुर्घटना भएको शनिबारका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विषाक्त रक्सीको सेवनबाट गाउँका २२ जनाको ज्यान गएको र अरु केही अस्पताल भर्ना भएका उक्त क्षेत्रका प्रशासकीय एक अधिकारीले पुष्टि गरेको सिन्ह्वाले जनाएको छ । अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गम्भीर रहेको पनि समाचारमा जनाइएको छ ।

बताइएअनुसार बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए । सो रक्सी सेवनबाट बिरामी भएका उनीहरुको शुक्रबार साँझ ज्यान गएको हो । शुक्रबार अपरान्हबाट मानिसहरु निकै बिरामी परेका र साँझदेखि मर्न थालेका बताइएको छ ।

सम्बद्ध इलाकाका प्रहरीले सो क्षेत्रका पाँच ओटा रक्सी पसल सिल गरी ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन् । त्यस्तै ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ ।