बेलायतका प्रधानमन्त्री जोनसनले प्रेमिका साइमन्डससँग गुपचुप बिहे गरे

बेलायतका प्रधानमन्त्री जोनसनले प्रेमिका साइमन्डससँग गुपचुप बिहे गरे



बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका कैरी साइमन्डसँग गुपचुप रूपमा विवाह गरेका छन् । जोनसोन र साइमनबीच शनिबार वेस्टमिन्स्टरको चर्चमा बिहे भएको हो ।

यसबारे प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले कुनै टिप्पणी नगरे पनि सोसल मिडियामा नवविवाहित जोडीलाई बधाईको ओइरो लागिरहेको बीबीसीले जनाएको छ ।

बेलायती पत्रिका ‘द मेल’ले जनाएअनुसार निकै हतार–हतार गरिएको प्रधानमन्त्रीको वैवाहिक समारोहमा ३० जना पाहुना उपस्थित थिए । कोभिड महामारीका कारण यतिबेला बेलायतमा वैवाहिक समारोहमा ३० जना मात्र पाहुना निम्त्याउन पाइने व्यवस्था छ ।

क्याथोलिक रीतिरिवाजअनुसार भएको उक्त बिहेमा चर्चका केही सदस्यसमेत सामेल रहेका र फादर ड्यानियल हम्फ्रिजले विवाह गराएका जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूलाई समेत जानकारी नरहेको उक्त विवाह शनिबार स्थानीइ समयअनुसार साढे एक बजे सम्पन्न भएको थियो ।

ज्ञात रहोस्, हाल ५६ वर्षका बोरिस र ३३ वर्षीया कैरीबीचको सम्बन्धबारे दुई वर्षअघि नै मिडियामा चर्चा चलेको थियो । सन् २०२० को फेब्रुअरीमा प्रधानमन्त्री बोरिसले आफूहरूबीच स्वयम्बर भएको र कैरी गर्भवती भएकी समेत खुलासा गरेका थिए ।