अति विपन्न जनका लागि मनकारी दिलबहादुरले यसरी खोले दिल

अति विपन्न जनका लागि मनकारी दिलबहादुरले यसरी खोले दिल


  • श्याम क्षेत्री

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि देशमा निषेधाज्ञा जारी छ, जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द्ध रुपमा सुचारु हुन सकेको छैन।

दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बल्न छाड्दै गएको छ । कतै रोगले भन्दा पनि भोकले ती विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता सर्वत्र उब्जिएको छ ।

दाङका विभिन्न स्थानीय तहमा अति विपन्न परिवारले खाद्यान्नको याचना गर्न थालिसकेका छन् । सरकार यसप्रति संवेदनशील बन्न नसक्दा भोकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालिसकेको छ ।

यसैबीच विगत लामो समयदेखि जापान रहँदै आउनुभएका प्रदेश ५ को राजधानीस्थित राप्ती गाउँपालिका वार्ड नं. १ निवासी मनकारी दिलबहादुर बस्नेतले भालुबाङस्थित पुरानो बजार क्षेत्रका अति विपन्न ७० घर परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गर्नुभएको छ।

‘सेवा नै धर्म, बुझ्नुपर्छ गरिबको मर्म’ भन्ने सोचका साथ आफ्नै खर्चमा अति विपन्न परिवारलाई चामल, दाल, तेल, स्वयाविन, साबुन, मास्क र सेनिटाइजर लगायत गरि प्रतिघर रु. २ हजार २ सय मुल्य बराबरको खाद्यान्न सामाग्री वितरण गरेको र आगामी दिनमा पनि निरन्तर गरिब-दुःखीको सेवामा लाग्ने मनकारी बस्नेतले बताउनुभयो।

भोकका कारण जनताले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ जनता बचाउने अभियानमा सबै आआफ्नो तरिकाले लाग्नसमेत उहाँले अपिल गर्नुभएको छ।

राहत सामाग्री पाएसँगै महिना दिन जति आफ्नो दैनिकी चल्ने ती अति विपन्न परिवारले बताएका छन् । जनताको सारथी बनेको भन्दै प्रशंसा र धन्यवाद तिनले मनकारी बस्नेतलाई ज्ञापन गरेका थिए । साथै, ती परिवारले थप गुजारा चलाउन सहयोगको याचना गरेका छन् ।