डब्ल्यूएचओद्वारा नयाँ कोभिड भाइरसलाई अलग नामाकरण
बेलायत सरकारको सल्लाहकार समेत रहेका एक वैज्ञानिकले बेलायत कोभिड-१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले बेलायतमा पछिल्लो समयमा यससँग सम्बन्धित ३,३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन् ।
तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिश प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् । उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भनेका छन्- ‘हुन त हाल बेलायतमा देखापरिरहेका संक्रमितहरुको संख्या थोरै छ तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ ।’
यसैकारणले बेलायतमा कोभिडको तेस्रो लहरको शुरुआत हुन सक्ने अवस्था रहेको भन्दै उनले बिबीसीसँगको कुराकानीमा सोमबार भनेका थिए- ‘हुन त अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुँदै जानेछन् ।’
शुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखापरेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ भन्ने उनको तर्क छ । बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड-१९ को बृटिश भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए ।
डब्ल्यूएचओले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँगको छलफलमा भेरियन्ट्स को लागि सजिलै–उच्चारण र गैरकलंकित सङ्केत (नाम)हरू प्रयोग गर्न सिफारिस गरेको हो ।
डब्लुएचओले जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ को प्रकारलाई जनाउँदा कुनै देशको नाम उच्चारण गर्दा यसले सम्बन्धित देशको प्रतिष्ठामाथि आँच आएको गुनासोलाई सम्बोधन गर्दै ग्रीक वर्णमालाका अक्षर अल्फा, बीटा, गामाजस्ता गैरवैज्ञानिक समूह वा श्रोता तथा दर्शकहरुद्वारा छलफल गर्न सजिलो र अधिक व्यवहारिक हुने अक्षरहरु प्रयोग गर्न सिफारिस गरिएको छ ।’
त्यसैगरी बेलायतमा भेटिएको खतरनाक नयाँ कोभिड भाइरस (बी.१.१.७) लाई डेल्टा, दक्षिण अफ्रिकामा भेटिएको भाइरसलाई बिटा र ब्राजिलमा भेटिएको नयाँ भाइरसलाई गामा नामाकरण गरिएको छ ।
यी भाइरसको वैज्ञानिक नाम पूर्ववत नै रहेपनि उच्चारण सजिलो बनाउन र भाइरसको पहिचान कुनै देश विशेषको नामबाट हुँदा यसले उक्त देशलाई हेर्ने विभेदकारी दृष्टिकोण बन्ने भनाइहरूपछि विश्व स्वास्थ्य संगठनले यो निर्णय लिएकोे हो ।
विश्व स्वास्थ्य सङ्गठनकी कोभिड-१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै भनेका छन्, ‘भेरिअन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न ।’
अमेरिका, ब्राजिल, फिलिपिन्स र अन्य मुलुकहरूमा भेटिएका कोभिडका नयाँ प्रकारलाई एप्सिलन, जेटा, आयोेटा र थेटाजस्ता नाम दिइएको छ ।
भारतमा सबैभन्दा पहिले भेटिएको प्रकारलाई भने ‘कप्पा भेरिएन्ट’ नामाकरण गरिएको छ । भारतमा भेटिएको बी.१.६१७.२ भेरिएन्ट भारतमा कोभिडको घातक दोस्रो लहरको रूपमा देखिएको छ । महामारीको उक्त दोस्रो लहरका कारण दैनिक हजारौँको मृत्यु हुनुका साथै लाखौँ सङ्क्रमित हुँदा भारतको स्वास्थ्य सेवा संरचनालाई नै अस्तव्यस्त बनाएको छ ।
कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरिअन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ ।
प्रतिक्रिया