काठमाडौँ उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ ।
कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्का लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको मंगलबारको बैठकले १४ गतेअघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो ।
बुधबार बैठक बसेर उक्त निर्णय गरिने जानकारी दिइएको छ । बताइएअनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रूपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय हुने छन् ।
यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । खाद्यान्न पसल बन्द भएपछि प्रशासनले आवश्यक पर्नेहरूलाई स्थानीयस्तरमै खाद्यान्न उपलब्ध गराउने जनाएको थियो ।
आदेशका अन्य प्रावधान भने यथावत रहने जनाइएको छ । जसअनुसार अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो । एक महिना वित्दा पनि कोरोना सङ्क्रमण आशातित रूपमा घट्न सकेको छैन तर पछिल्ला दिनमा भने घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । मुलुकभर नै सङ्क्रमण घट्दो क्रममा रहेको छ ।
प्रतिक्रिया