अफगानिस्तानमा उच्च कमाण्डरसहित १८ जना तालिबान मारिए

अफगानिस्तानमा उच्च कमाण्डरसहित १८ जना तालिबान मारिए



अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् ।

अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाइ कारबाही गरेको थियो । त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ । त्यस आक्रमणमा परी एकजना तालिबानका कमाण्डर पनि मारिएका छन् । मोहमद कुरी रजिम नामका ती तालिबानका कमाण्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेका बताइएको छ ।

सो प्रान्तको सैन्य संगठनका प्रवक्ता मोहमद हनिफ रेजाईले सो घटनाको पुष्टि गरेका छन् । सिन्ह्वाले जनाएअनुसार त्यहाँको सेना र प्रहरीले उक्त जिल्लामा हवाई हमला गरेको थियो । त्यस कारबाहीमा परी तालिबानका कमाण्डर रजिम मारिएका छन् ।

यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । त्यसै स्थानमा अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिनअघि पनि दर्जनौँ आतङ्ककारी मारिएका बताइएको थियो ।

पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकूहरुले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ ।