गृहमन्त्री पाउन भित्रभित्रै प्रतिस्पर्धा !

गृहमन्त्री पाउन भित्रभित्रै प्रतिस्पर्धा !



सर्वोच्च अदालतको निर्णय अनुकुल बनाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माओवादी गठबन्धन प्रयासरत भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने जसपासहित विभिन्न पक्षलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने योजनामा रहनुभएको छ।

प्राप्त जानकारीअनुसार जसपा अध्यक्ष महन्थ ठाकुरको सङ्केत मिल्ने बित्तिकै प्रधानमन्त्रीबाट मन्त्रीमण्डल पुनर्गठन हुनेछ । मन्त्रीमण्डलमा जसपालाई कम्तिमा आठदेखि दश मन्त्रालय प्राप्त हुन सक्ने बताइएको छ ।

चुनावी सरकार भएकोले अबको सरकारमा गृहमन्त्रीको विशेष भूमिका रहने निश्चित छ, त्यसैले केही नेताहरू गृहमन्त्री बन्ने अधिक प्रयासमा छन् । यसरी प्रतिस्पर्धा गर्नेहरूमा भक्तपुरका एमाले युवा नेता महेश बस्नेतको नाम सबैभन्दा अगाडि छ। केपी ओलीका निम्ति जेसुकै गर्न तयार रहेको बताउने नेता बस्नेत पछिल्लो समयमा प्रधानमन्त्रीसँग धेरै निकट बन्नुभएको छ । केपीका पक्षमा देशभर युवा परिचालन गरेर आफूले ठूलो योगदान दिएको हुनाले गृहमन्त्रीको जिम्मेवारी आफैलाई प्राप्त हुने विश्वास बस्नेत स्वयममा भएको बताइन्छ ।

एमालेको युवा सङ्घको अध्यक्षसमेत रहेका बस्नेतलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीमाथि दबाब पर्न थालेको छ। गत सोमबार बिहान युवा सङ्घको दलबलसहित बालुवाटार पुगेका महेशले आफूलाई गृहमन्त्रालय मिल्नुपर्ने माग गर्दा प्रधानमन्त्रीले पनि सकारात्मक सङ्केत दिनुभएको थियो । अहिले एमालेले एउटा हैसियत बनाउनुमा केपी ओलीपछि आफ्नो योगदान रहेको दाबी नेता बस्नेतले गर्दा प्रधानमन्त्रीले उक्त भनाइमा असहमति जनाउनुभएन ।

त्यस्तै, बस्नेतले त्यस अवसरमा सल्लाहकारहरू विष्णु रिमाल र राजन भट्टराईहरूको काम गराइप्रति तीखो टिप्पणी गर्दै उनीहरूलाई हटाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो ।

केही दिनयता महेशको निवासमा उच्च प्रहरी अधिकारीहरूको आवागमन बाक्लिन थालेको छ । महेशलाई गृहमन्त्री नबनाउँदा अप्ठ्यारो पर्ने स्थिति देखापर्न थालेकोले प्रधानमन्त्री केपी ओली बस्नेतलाई नै गृहमन्त्री नियुक्त गर्न बाध्य हुनुहुने अनुमान गर्न थालिएको छ । एमालेका नेताहरू ईश्वर पोखरेल र प्रदीप ज्ञवाली पनि गृहमन्त्री बन्न इच्छुक रहेका बुझिएको छ।

उता जसपा नेताहरू शरतसिंह भण्डारी, राजकिशोर यादव र राजेन्द्र महतो पनि गृहमन्त्री बन्ने प्रयासमा भएको बुझिन्छ । तर चुनावी सरकार भएकोले गृहमन्त्रालय आफ्नो विश्वासप्राप्त बाहेक अरूलाई सुम्पन प्रधानमन्त्री तयार हुने विश्वास गरिएको छैन । महेशलाई कदाचित गृह नदिइएमा कसलाई उक्त जिम्मेवारी मिल्न सक्ला भन्ने अहिले नै यकिन गर्न सकिएको छैन ।