भारतमा गत वर्ष सन् २०२० मा मात्रै रेल मार्गमा ८७०० भन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागु भइरहेकै बेला उनीहरूको मृत्यु भएको सम्बद्ध अधिकारीले जनाएका छन् ।
मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
समितिका उच्च अधिकारीले यो विवरण गत वर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन् ।
मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐनअन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको पीटीआईले जनाएको छ ।
प्रहरी अधिकारीले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको छ । रेल मार्गमा मृत्यु भएकाको खास सङ्ख्या भने ८७३३ रहेको छ ।
लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्नलगायतको अभाव भएको कारणले कामदार रेलमार्ग हुँदै हिडेर आ-आफ्ना घरतर्फ जाने क्रममा उनीहरुको मृत्यु भएको पाइएको छ ।
‘लकडाउनका कारण रेल मार्गमा खास रेल गुडेका थिएनन्, तर आफ्नो घर जान चाहने पैदल यात्रुहरुको संख्या भने ठूलो थियो, तीनै मध्येका ८७ सयको मृत्यु भएको हो,’ एक अधिकारीले भने ।
रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घटना भएर नभइ रेल मार्ग अतिक्रमण गरेकाले उनीहरुको मृत्यु भएको स्पष्ट पारेका छन् ।
प्रतिक्रिया