सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने

सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने


कोरोना महामारीका कारण यो वर्ष मात्र सात करोड ५० लाखले रोजगारी गुमाएको अन्तरराष्ट्रिय श्रमिक संगठन (आईएलओ)ले जनाएको छ ।

आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरु हुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको छ ।

बेरोजगार भएका तीन करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ, जुन संयुक्त राष्ट्रसंघद्वारा निर्धारित १.९० डलर प्रतिदिनको अन्तराष्ट्रिय गरीबी रेखाभन्दा तल हो ।

सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ । न्यून आय भएको देशमा रोजगारी गुमेका कारण परिवारमा गरीबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने चेतावनी उनले दिएका सिन्ह्वाले जनाएको छ ।

गरिब देशमा जारी असमानताका कारण महिला र यूवाको रोजगारीमा गम्भीर असर पर्ने आईएलओले जनाएको छ । गरिबी न्यूनिकरणका लागि विभिन्न उपाय अपनाएको देशको प्रयासलाई पाँच वर्ष पछि धकेलेको पनि आइएलओको भनाइ छ ।

यता संयुक्त राष्ट्रसंघले माहामारीले विश्व जगतमा देखिएको बेरोजगारीको संकट टार्न लामो समय लाग्ने बताएको छ ।