एनआरएनए जापानको क्षेत्रिय समितिमा उम्मेदवारी-विवाद !

एनआरएनए जापानको क्षेत्रिय समितिमा उम्मेदवारी-विवाद !


  • कविकिरण न्यौपाने, नागोया (जापान)

एनआरएनए जापान क्षेत्रिय समिति नागोयाको अधिवेशनको संघारमा विवाद उत्पन्न भएको छ। पछिल्लो समय नागोयाको क्षेत्रिय अधिवेशनमा संयोजक पदको उम्मेदवारीलाई लिएर विवाद उत्पन भएको हो ।

संयोजकमा तीन जनाको उमेदवारी परेकोमा मनोजबम मल्लको उमेदवारीलाई लिएर विवाद भएको छ । उनीविरुद्ध निर्वाचन समितिमा उजुरीसमेत परेको छ । मल्लविरुद्ध संयोजकका प्रत्यासी उमेदवार गंगा घर्तिमगर र अर्जुन केसी (रामवहादुर खत्री)ले उजुरी गरेका हुन् ।

क्षेत्रिय समितिको संयोजकको उम्मेदवार हुन विधान को ५.४ नम्बर बुँदामा रासपको कुनै पनि पदमा रहेर एक कार्यकाल कार्य सम्पादन गरेको र क्षेत्रको हकमा क्षेत्रीय समितिको पदाधिकारी रही कम्तिमा एक कार्यकाल पूरा गरेको हुनुपर्दछ भनिएको र मनोजबम मल्लले उक्त नियम पालना नगरेको केसी र घर्तिमगरको आरोप छ । अझ विधानको २.२७ मा कार्यकाल भन्नाले पदमा नियुक्ति वा निर्वाचित भएर सपथ खाएको मितिले न्यूनतम ३६५ दिनको अवधि भनेर प्रष्ट पारिएको उनीहरु बताउँछन् ।

क्षेत्रिय समिति नागोयाको वर्तमान कोषाध्यक्ष समेत रहेका गंगा धर्तिमगरका अनुसार मल्ल गत क्षेत्रिय समितिमा कार्य समिति सदस्यमा चुनिएका हुन् । पछि उपाध्यक्ष पद रिक्त भएपछि केही महिना मात्र उनलाई उक्त पदमा राखिएको थियो । अधिवेशनमा चोर बाटोबाट आउन नहुने उनको तर्क छ।

संयोजकका प्रत्याशी मनोजबम मल्लको तर्कचाहिँ बेग्लै छ । त्यस विषयमा निर्णय गर्न विधान कमिटि, निर्वाचन कमिटि रहेको र सम्बन्धित निकायले गरेको निर्णय आफूलाई मान्य हुने उनको भनाइ छ। चुनावमा हार व्यहोर्ने देखेपछि यस्तो बखडा गरिएको मल्ल बताउँछन् । यसअघि नै जुन ६ तारिक आइतबार हुने अधिवेशन सम्पन्न गर्नका लागि एनआरएनए जापानका सल्लाहकार विमल अधिकारी संयोजक रहने गरी तीन सदस्यीय निर्वाचन कमिटी समेत गठन गरिएको थियो । अन्य सदस्यहरुमा एनआरएनए जापानका पूर्वमहासचिव डा. सुदिप अधिकारी र डा. विश्वराज कँडेल रहेका छन् । निर्वाचन समितिका संयोजक रहेका विमल अधिकारीका अनुसार आफूहरुले निर्वाचनको सम्पूर्ण गतिविधि प्रकृयाअनुसार गर्ने, सकेसम्म सर्वसहमत समिति चयन होस् भन्ने आफूहरुको धारणा रहेको उनले बताए । उम्मेदवारी दर्ताको समय सकिएपछि पनि उम्मेदवारी दर्ताको लागि केही आवेदन आएको र त्यस्ता आवेदनलाई रद्द गरिएको अधिकारी बताउँछन् ।

हुन त नागोयामा यस्तो लफडा नयाँ भने होइन । केही वर्षअघि मात्र एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको भन्दै पूनः निर्वाचन गरिएको इतिहास छ। त्यस्तै, एनआरएनएमा हुने यस्ता प्रतिष्पर्धा स्वच्छ नहुने जानकारहरु बताउँछन् । नागोयामा हुन लागेको यस क्षेत्रिय अधिवेशनमा संयोजकका उम्मेदवार अर्जुन केसीलाई एनआरएनए आईसिसिका मानार्थ सदस्य डिलाराम खरेलको निकट रहेको र मनोजबम मल्ल एनआरएनए एशिया प्यासिफिकका उपसंयोजक पारशमणि पोखरेल र गंगा घर्तिमगर एशिया प्यासिफिकका संयोजक गोविन्द्र श्रेष्ठको निकट रहेको चर्चा छ।

समिति सर्वसहमतबाट चयन नभए जुन १० तारिक अनलाइन भोटिङबाट समिति चयन गरिने बताइएको छ । एनआरएनए जापानको पहिलो क्षेत्रिय समिति रहेको नागोयामा १५ सय हाराहारीमा एनआरएनएका सदस्यहरु रहेका छन् । एनआरएनए नागोयाको उपसंयोजकमा भेषनाथ गौतम (कृष्ण), योमन देवान, सविन राई र इन्द्र पराजुलीको उम्मेदवारी परेको छ, जसमध्ये दुई जना छानिने छन् । महिलातर्फ उपाध्यक्षमा सम्झना पण्डित निर्विरोध छानिएकी छन् । सचिवमा भने विष्णुबहादुर कार्की, रामकुमार थापा, भानुभक्त पुरी र भैरवप्रसाद अधिकारीको उम्मेदवारी परेको छ । सहसचिवमा निलम राउत, प्रवन पाण्डे, गोविन्द्र प्रसाद भूषाल र शिवलाल न्यौपाने प्रतिष्पर्धा गर्दै छन् । जसमध्ये दुई जना छानिने छन् ।

यस्तै कोषाध्यक्षमा यमबहादुर पाइजा निर्विरोध भएका छन् भने सहकोषाध्यक्षमा सुवास पाण्डे, सरोज वडाल, जिवनाथ घिमिरे र ईश्वर बस्नेतको उम्मेदवारी परेको छ । चार जना आवश्यक सदस्यका लागिसागर थापा, दलबहादुर कार्की, मित्रलाल सिग्देल, नरेश राई, रमेश श्रेष्ठ, कुशल पौडेल, विप्लप श्रेष्ठ र राजेश अधिकारी चुनावी मैदानमा छन् । विद्यार्थीतर्फ भने कार्यसमिति सदस्यमा सुजन कार्की र्निविरोध भएका छन् ।

लामो समय नागोयामा रही एनआरएनएको गतिविधिलाई नजिकबाट नियाल्दै आएका सञ्चारकर्मी भवानी पन्तका अनुसार केही समयदेखि एनआरएनएमा युवा शक्तिको आकर्षण बढ्नु राम्रो कुरा हो, र पनि संस्थाको मुटु मानिने विधान एवं महत्वपूर्ण दस्ताबेजको सही अध्ययन र सम्प्रेषण नहुनुले कतिपय अवस्थामा समस्या श्रृजना हुने गरेको छ । अग्रज भन्नेहरुले नै आफ्ना व्यक्तिगत व्यवहार अनि इगोलाई संस्थामा जोड्दा समस्या आउने गरेको पछिल्ला घटनाक्रमले देखाउँछ । जबसम्म समाजसेवामा अग्रसर देखिएका युवाहरुलाई संस्थाको बारेमा तथ्यसंगत र विधिवत कुराहरु संप्रेषण गर्ने तथा सिकाउने गरिँदैन तबसम्म सहि समाज निर्माण हुन नसक्ने उनको तर्क छ।