मन्त्रिपरिषदबाट बाहिरिएपछि पोखरेलद्वारा पार्टी एकता जोगाउन आह्वान

मन्त्रिपरिषदबाट बाहिरिएपछि पोखरेलद्वारा पार्टी एकता जोगाउन आह्वान



सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेको भन्दै यसबाट जोगाउन आह्वान गरेका छन् । उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने उदघोष गर्दै पोखरेलले राष्ट्रिय राजनीतिमा अस्थिरताको आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएको र यसलाई परास्त गर्नुपर्ने जिकिर गरेका छन् ।

यही जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए भने मन्त्रिमण्डल पुनर्गठनपछि पोखरेल क्याबिनेटबाट बाहिरिनु परेको थियो ।

महासचिव पोखरेलद्वारा आज जारी गरिएको अपिलमा भनिएको छ, ‘मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई बिथोल्ने आदि दुष्प्रयत्न हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको छ । यस्तो बेलामा सिङ्गो राष्ट्रले आम नेपाली जनताप्रति सुदृढ र जनआधारित एमालेप्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ, यो आवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ, यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थकलाई गोलबद्ध हुन अनुरोध गर्दछु ।’

नेता पोखरेल २०७४ साल फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म रक्षामन्त्री र त्यसपछि २०७८ साल जेठ २१ गतेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा रहेका थिए । उक्त अवधिलाई आफूले राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको उल्लेख गर्दै उनले जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीले मार्गदर्शन गरेको समेत बताएका छन् ।

यसबीच सरकारमा रहेका बेला आफूबाट भएका सबै काम सम्बन्धित ठाउँमा औपचारिक अभिलेखीकरण भएको र तिनले आज मात्र नभएर आवश्यक पर्दा पछिपछिसम्म पनि सबैलाई यथार्थ बताइरहने विश्वास व्यक्त गर्दै महासचिव पोखरेलले कोभिड–१९ सङ्क्रमणको महामारीका समयमा उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा संयोजकका हिसाबले आफूले भूमिका निर्वाह गरेको स्मरण गरेका छन् ।

कोभिड सङ्क्रमितको उपचारका लागि सरकारको निर्णयअनुसार सात महिनाको पारिश्रमिक रु चार लाख ५६ हजार ४०० कोभिड कोषमा बुझाएको र राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको उनले जानकारी दिएका छन् । उक्त अवधिमा पार्टीको कोषमा ६ लाख पाँच हजार जम्मा गराइएको उनले अवगत गराएका छन् ।

pict:rss