बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते भएका छन् ।
डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाइ छ । घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो । तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन् ।
यसअघि गत अप्रिलमा पनि सोही ठाउँमा नौ प्रहरी र दुई जना नागरिक पनि आक्रमणमा परी मारिएका थिए ।
यता, अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ । शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिका समेत रहेका एपीले जनाएको छ । निकै शक्तिशाली बिस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खोंचमा झरेको थियो ।
उक्त बिस्फोटको कसैले पनि जिम्मेवारी लिइसकेका छैनन् तर प्रान्तीय सरकारले तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ । तालिबान समूहले भने उक्त घटनाका बारेमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।
प्रतिक्रिया