राजेन्द्र महतोको विवादित अभिव्यक्ति विरुद्ध विरोध प्रदर्शन

राजेन्द्र महतोको विवादित अभिव्यक्ति विरुद्ध विरोध प्रदर्शन


  • डम्बर निदाल, डडेल्धुरा

उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादित अभिव्यक्तिविरुद्ध डडेल्धुरामा विरोध प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सरकारका जिम्मेवार मन्त्रीबाट बहुराष्ट्रिय देशको विषयमा दिएको अभिव्यक्तिका विरुद्ध नेपाल विद्यार्थी संघ डडेल्धुराका विद्यार्थीहरूले मोटरसाइकल ऱ्याली गरी विरोध जनाएका हुन् ।

जिल्ला सदरमुकामको मुख्य बजार बागबजारबाट मोटरसाइकल ऱ्याली शुरु गरी तुफानडाँडा, कीर्तिपुर हुँदै पोखरा बजारसम्म पुगेर भीमदत्त चोकमा कोणसभाका लागि पुगेको थियो । ऱ्यालीमा आएका विद्यार्थीलाई कोणसभा गर्दा प्रहरीले हस्तक्षेप गरेको विद्यार्थी नेता रमेश मालीले जानकारी दिए ।

मन्त्रिपरिषद् पुनर्गठन नै असंवैधानिक र सपथ लिएका मन्त्रीबाट देश टुक्र्याउने अभिव्यक्तिको विरोध र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले डडेल्धुरामा मोटरसाइकल जुलुस गरिएको विद्यार्थी नेता जगत ऐरले बताए ।

प्रहरीले सदरमुकामको तुफानडाँडा चोकमा हस्तक्षेप गरी रोक्न खोजे पनि मूल्यवृद्धिविरुद्ध चर्को नाराबाजी गर्दै विद्यार्थीहरू छलेर बागबजार पुग्दा त्यहाँको प्रहरी टोलीले धरपकडको प्रयास गरेको थियो ।