पार्टीएकताका लागि २०७५ जेठ २ अघिको अवस्थामा फर्कन केपी तयार !

पार्टीएकताका लागि २०७५ जेठ २ अघिको अवस्थामा फर्कन केपी तयार !


सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेका छन् ।

एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरु असन्तुष्ट भई पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष ओलीले आइतबार ६ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने अ‍ेलीको भनाइ छ ।

राष्ट्रिय राजनीतिक उतारचढावसँगै पार्टी हितविपरीत लागेको भन्दै विभिन्न नेताहरुलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले अनौपचारिक रुपमा एकताका लागि पहल गरेका थिए । त्यसैको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरु मूलभूत रुपमा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि जनाएका छन् ।

आफूलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटबाट पार्टीका निवर्तमान सांसदहरुले हस्ताक्षर फिर्ता गर्नुपर्ने प्रस्ताव उनले गरेका छन् । अध्यक्ष ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने पनि स्पष्ट गरेका छन् ।