सकारात्मक सोच आवश्यक

सकारात्मक सोच आवश्यक


राजनीतिक वृत्तमा आजकल सकारात्मक या राम्रा कुरा खासै सुन्न पाइँदैन । नेतृत्व तहमा रहेका नेताहरू हरेक विषयलाई व्यक्तिगत लाभको तराजुमा तौलेर मात्र कुरा गर्छन् । सत्ता र शक्तिप्रतिको लिप्सा नेताहरूमा झन्-झन् बढेको अनुभूति हुन्छ । कुरा मीठा गर्ने तर व्यवहारमा उतार्ने सवालमा बिच्कने त नेतागणको विशेषता नै बनेको छ । देश र जनताप्रति जिम्मेवार तहमा उदासीनता या गैरजिम्मेवारीपन बढेको सङ्केत हो यो ।
यस्तो निराशाबीच मुलुकका दुई नेताद्वारा हालै व्यक्त धारणा तुलनात्मक रूपमा सकारात्मक प्रतीत हुन्छन् । उदाहरणका लागि नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाद्वारा शान्तिका काम सम्पन्न नभएसम्म काङ्ग्रेसले कथित राष्ट्रिय सरकारको नेतृत्व गर्ने या सरकार परिवर्तनका विषयमा समय खर्च नगर्ने भनी दिएको अभिव्यक्तिलाई लिन सकिन्छ । नेपाली काङ्ग्रेसको प्राथमिकतामा सत्ता होइन छिटोभन्दा छिटो शान्तिप्रक्रिया टुङ्ग्याउने विषय परेकोे प्रस्ट्याउँदै सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकार विषयमा निर्रथक बहस छेडेर नेताहरू यतिखेरको मूल कर्तव्यबाट बहकिन खोजेको सङ्केत गरेका छन् । वास्तवमा चौथोपटक संविधानसभाको म्याद थपिसकेपछि पनि दलका नेताहरू निर्माणाधीन संविधानलाई चटक्कै बिर्सेर सरकार परिवर्तनको राग अलाप्न थालेका छन् । मानौँ, उनीहरूको जिम्मेवारी भनेकै सरकार बनाउने र ढाल्ने, आलोपालो मन्त्री बन्ने, आफ्नाहरूको भविष्य सुरक्षित तुल्याउने उपायको खोजी गर्ने, दोष अरूको टाउकोमा थोपर्दै आफूलाई चोखो सावित गर्न खोज्ने र यस्तै-यस्तै मात्र हुन् ! जनतालाई दिक्क तुल्याउने यस्ता हरकतबीच सभापति कोइरालाबाट सरकारमा जाने-नजाने विषयमा नअल्भिmई काङ्ग्रेसले शान्तिप्रक्रियालाई नै प्राथमिकता दिने अभिव्यक्ति दिएर बेग्लै आशा जगाइदिएका छन् । यस्तै, प्रधानमन्त्री तथा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईद्वारा राजनीतिक नियुक्तिले देश बिगार्‍यो, त्यसैले अबदेखि कुनै पनि सरकारी संस्थानमा राजनीतिक नियुक्ति नगरी सार्वजनिक प्रतिस्पर्धाबाट पदपूर्ति गरिने प्रतिबद्धता जो गरिएको छ, यो सकारात्मक र स्वागतयोग्य छ । विधि छोडेर तीव्र गतिमा अराजक बन्दै गएको मुलुकमा अक्षम या अयोग्य, स्वार्थी, अवसरवादी, चाकरीवाज, मूढ र भ्रष्टहरूको बोलवाला बढ्दै गएको छ । देशलाई पतनको खाल्डोमा पुर्‍याउन यस्तो प्रवृत्ति सदा उर्वर सावित हुनेमा बहस गर्नै पर्दैन । प्रधानमन्त्रीको प्रतिबद्धताले कमसेकम पतनको यो गति सुस्त बन्ने अपेक्षा जगाउँछ ।
माथिका उदाहरण उल्लिखित नेताद्वारा कुनै विशिष्ट काम भएको अर्थमा उद्धृत गरिएका होइनन् । सकारात्मक सोच या राम्रो काम गर्ने प्रवृत्तिमै खडेरी परेको अवस्थामा यस्ता सर्न्दर्भ ध्यान पुर्‍याउन योग्य छन् भन्न खोजिएको हो । नेतृत्व तहमा पुगेका प्रत्येकले राम्रो मात्र सोच्ने र त्यसलाई व्यवहारमा उतार्न खोज्ने हो भने दु:खै पाए पनि मुलुकको मुहारमा चमक आउने थियो कि भन्ने आशय मात्र हो । सुशील र बाबुराम देशका अनुपम नेता हुन् भन्ने आशय कदापि होइन ।
प्रधानमन्त्रीका रूपमा डा. भट्टराईले सय दिन पार गरेका छन् । तर, बितेका सय दिनमा पनि मुलुकको रूप-रङ्गमा उल्लेख्य परिवर्तन भने खासै आउन नसकेको सबैले अनुभूत गरेकै विषय हो । व्यक्तिगत रूपमा डा. बाबुराम भट्टराईको प्रशंसा र विश्वासमा जति शब्द नेपाली मिडियाले खर्च गर्‍यो भट्टराई नेतृत्वको सरकारका विकृत पक्षमाथि पछिल्ला दिनमा त्यत्तिकै प्रहार पनि भएको छ । व्यक्ति जति नै असल भए पनि परिवेशले उसका गुणलाई बेकम्मा बनाइदिन सक्दोरहेछ भन्ने एक उदाहरण पनि बनेका छन् बाबुराम भट्टराई । यही कुरा काङ्ग्रेस सभापति कोइरालाका हकमा पनि लागू भएको छ ।
तथापि, यस्ता पात्रहरूलाई तिनको निष्ठा वा चरित्रअनुरूप निर्वाध काम गर्न दिने वातावरण हुन्थ्यो भने नेपाल र नेपालीले आफ्नो भाग्य र नियतिलाई यस हदमा धिक्कार्न सायदै पर्दथ्यो ! राजनीति गर्नेहरूमा सहयोगी र सकारात्मक भावना, धैर्य र देशप्रतिको चिन्तन, इमानदारी र परिश्रमी स्वभाव हुन्थ्यो भने राजनीतिमा यति धेरै विकृतिले सायदै बास गर्दथ्यो !