पाकिस्तानमा दुईवटा रेल जुध्दा तीस जनाको मृत्यु

पाकिस्तानमा दुईवटा रेल जुध्दा तीस जनाको मृत्यु


पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै एपीले जनाएअनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् ।

मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ । सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरु उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।

मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको थियो । मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनुसन्धान शुरु भएको जनाइएको छ ।

पछिल्लो विवरण अनुसार कम्तीमा ३० जनाको मृत्यु भएको रेलवे अधिकारीहरुले जनाएका छन् । दुवै रेलमा गरी करिब एघार सय यात्रु सवार थिए । घाइते कतिपय यात्रुको स्वास्थ्य अवस्था निकै नाजूक रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।