मुख्यमन्त्रीका विपक्षमा मतदान गर्न एमालेको निर्देशन

मुख्यमन्त्रीका विपक्षमा मतदान गर्न एमालेको निर्देशन


सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (२५ जेष्ठ) विश्वासको मत लिँदैछन् । नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकारका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका छन् ।

माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने भएकाले एमालेले विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए । बाउन्न प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् । पूर्वनेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्ने अवस्था छ । कांग्रेसले अहिलेसम्म पक्ष–विपक्ष केमा मतदान गर्ने भन्नेबारे आधिकारिक टुङ्गो नलगाएको भए पनि केन्द्रदेखि प्रदेशसम्म ओली पक्षीय सरकार विस्थापन गरी विपक्षी गठबन्धनको सरकार निर्माण गर्न काङ्ग्रेसको सक्रियता पछिल्ला दिन बढेर गएको छ । यस्तै, जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ । सुदूरपश्चिम प्रदेशमा जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।