प्रकाशक र बिक्रेता/वितरकमाथि हदैसम्मको कारवाही गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।
पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबार सम्पन्न ८८औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न केन्द्रलाई निर्देशन दिएका छन् । सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई उनले निर्देशन दिएका छन् ।
प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका मन्न्त्रालय स्रोतले जनाएको छ । ‘तपाईंहरुले अनुगमन गर्नुस्, देशको छबिमा आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख गरेर पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’, मन्त्री श्रेष्ठको निर्देशन रहेको छ ।
मन्त्रीको यस्तो निर्देशनपछि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पनि पुरानो नक्सा राखि नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । यस विषयमा तत्काल अनुगमन गर्ने र गल्ती गर्ने प्रकाशक एवम् बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ । सरकारले नया नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउँदै उनले त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने धारणा राखे ।
अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाइने जानकारी दिँदै भने- ‘पुरानो नक्सा राखेर पुस्तक छापाइ गरेको जानकारी पाएका छौँ, तीमध्ये केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौँ ।
बुझिएअनुसार अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेर छपाइ गरेका छन् ।
प्रतिक्रिया