- विशेष प्रतिनिधि, लण्डन
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले लण्डनस्थित बकिम्घम प्यालेसमा बेलायतकी महारानी एलिजावेथ द्वित्तीयासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
बेलायतका लागि नेपालको २१औँ राजदूतको रुपमा रेग्मीले बुधबार भिडिओ लिङ्कमार्फत बेलायतको विन्जरमा हाल बसोबास गरिरहेकी महारानी एलिजावेथ द्वित्तीयालाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश पढेर सुनाएका थिए, जसमा महारानीको स्वास्थ्यका साथै दुवैदेशबीचको पारस्परिक सम्बन्धमा निरन्तरताको कामना गरिएको थियो ।
सोही अवसरमा महारानी एलिजावेथ द्वित्तीयाले बेलायतको लागि नेपालको २१औँ राजदूतको रुपमा नियुक्त भएकोमा राजदूत रेग्मीलाई बधाई दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने कामना गर्नुका साथै नेपालसँगको एैतिहासिक सम्बन्धको चर्चा गरेकी थिइन् ।

विगतमा आफूले दुई पटक गरेको नेपाल भ्रमणको सम्झना पनि सोही सन्दर्भमा गर्दै महारानीले वर्तमान हालतमा नेपालमा भइरहेको कोभिडको व्यापक संक्रमणप्रति चिन्ता व्यक्त गरिन् ।
राजदूत रेग्मीले नेपाल र बेलायतको दुई सय वर्षको सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई गरिरहेको सहयोगको प्रशंसा गरे । राजदूत रेग्मीको साथमा उनकी श्रीमतीको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया