एनआरएनए बेल्जियमको निर्वाचन-सरगर्मी बढ्यो

एनआरएनए बेल्जियमको निर्वाचन-सरगर्मी बढ्यो



सम्भावित अध्यक्षमा हालसम्म दुई उम्मेदवार देखिए

  • सनत आचार्य, बेल्जियम

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि अहिलेसम्म दुई जना प्रत्यासी हुने देखिएको छ ।

दुईमध्ये खड्गबहादुर केसीले फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् भने अर्का गोविन्द (सीपी) भट्टको तयारी रहेको बुझिएको छ ।

केसी राजनैतिक रूपले सत्तारुढ नेकपा एमालेनिकट मानिन्छन् । उनी वैचारिक रूपमा प्रवासी एकता मञ्चसँग आवद्ध छन् । यो संगठन नेकपा एमालेनिकटको प्रबास संगठन हो ।

संगठनका दृष्टिकोणले केसी समुह दोश्रो स्थानमा देखिन्छ । तर, केसी एनआरएनए बेल्जियमको दुई कार्यकालसम्म उपाध्यक्ष पदमा बसेर विभिन्न सामाजिक कार्यमा समेत सक्रिय भएकाले उनी लुभेन क्षेत्रका आप्रवासी नेपालीहरूबीच लोकप्रिय मानिन्छन् । उनी सांग्रिला समाजका पूर्वअध्यक्ष र रेष्टुरेण्ट व्यवसायी पनि हुन् ।

केन्द्रीय राजनीतिमा देखिएको प्रभाव र असरका कारण हालसम्म यो समुह अन्य वैचारिक संगठनसँग चुनावी तालमेलमा जाने सम्भावना न्युन देखिएको छ । केन्द्र र प्रदेशको राजनीति जस्तै यो समुह अन्य कुनै पनि राजनैतिक दलनिकट संगठनसँग मिलेर जाने अवस्था देखिँदैन । यस्तो अवस्थामा यो समुह अन्य संघ–संस्थासंग मिलेर चुनाव लड्ने आन्तरिक तयारीमा देखिन्छ ।

अन्य समुहसँग चुनावी समिकरण बन्न नसके केसी आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा केसीलाई एनआरएनए चुनाव फलामको च्यूरा सावित हुने छ ।

तर विगतमा जस्तै यो निर्वाचनमा पनि काङ्ग्रेसीहरू एकजुट हुन नसकी भित्री रूपमा काङ्ग्रेसकै एउटा खेमाले केसीलाई सहयोग गर्दा उनले सजिलै चुनाव जित्ने वातावरण बन्न सक्छ ।

केसीले अहिलेसम्म आफ्नो टिमको घोषणा नगरे तापनि उनको टिमवाट उपाध्यक्षमा वर्तमान महासचिव तीर्थराज धमला र महासचिवमा जनक सुवेदी लड्ने सम्भावना देखिएको छ ।

त्यस्तै केसीको टिमबाट आईसीसी सदस्यका लागि अर्जुन गुरुङ र हरि भट्टराईको चर्चा छ ।

यस्तै, अध्यक्ष पदका लागि अर्का सम्भावित उम्मेदवारका गोविन्द भट्ट (सीपी) देखिएका छन् । उनको उम्मेदवारीलाई अहिलेसम्म कुनै पनि समुहबाट आधिकारिक रूपले घोषणा नगरिए पनि भट्टको सक्रियता र तयारीले उनी उम्मेदवार बन्ने प्रष्ट देखिएको छ ।

नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समितिले भट्टको उम्मेदवारीलाई सार्वजनिक नगरे पनि उनलाई नै उम्मेदवार बनाउने आन्तरिक सहमति भैसकेको र त्यसलाई गोप्य राखिएको बुझिएको छ । सम्भवतः अन्य संगठनहरूसँग तालमेल निश्चित भइसकेपछि सामुहिक रूपमा साझा उम्मेदवारका रूपमा सार्वजनिक गर्ने बुझिएको छ ।

भट्ट दुई दशकभन्दा बढी समयदेखि बेल्जियममा बस्दै आएका एक सफल उद्ममी हुन् । उनी विगतमा एनआरएनएको दुई कार्यकाल सल्लाहकार र एक कार्यकाल कार्यसमिति सदस्यमा रहेर काम गरिसकेका छन् ।

त्यस्तै, उनी आईसिसिको टास्कफोर्समा समेत रहेर काम गरेका अनुभवी व्यक्ति हुन् भने नेपाली व्यवसायी संघ बेल्जियमको महासचिव हुँदै उपाध्यक्ष र अध्यक्ष भइ सफलतापूर्वक काम गरिसकेका व्यक्ति हुन् । उनी सामाजिक कार्यमा समेत सक्रिय रहेका व्यक्ति हुन् ।

सांगठनिक रूपले भट्ट समुह अन्य समुह भन्दा बलियो देखिएको छ । पछिल्लो चरणमा नयाँ सदस्यता वितरण र नवीकरणका लागि यो समुहले निकै नै मेहनत गरिहेको छ भने समितिमा सबै समुदाय र वर्गको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि बेल्जियममा स्थापित सामाजिक संघ–संस्थाहरुसँग सहकार्य गर्ने देखिएको छ ।

यसका लागि पनि यो समुहले बेल्जियममा रहेका अधिकांश संगठन र संघसंस्थाहरुसँग कार्यगत एकताका लागि एक चरणको छलफल गरिसकेको बुझिएको छ ।

केन्द्रीय राजनीतिको प्रभावले पनि भट्ट समुहले माधव नेपाल समुह, नेकपा माओवादी र जसपासँग समन्वय र सहकार्यमै साझा उम्मेदवार तय गर्ने अवस्था भएकोले भट्ट निर्वाचनमा साझा उम्मेदवार बन्ने देखिएको छ ।

यसका लागि नेकपा माओवादीनिकट नेपाल प्रगतिशील मञ्च र नेपाल समुहसँग विभिन्न चरणमा वार्ता गरिएको र भट्टलाई अध्यक्षमा साझा उम्मेदवार बनाउने आन्तरिक सहमति भएको बुझिएको छ ।

तर अत्यन्त न्युन सदस्यता भएको माधव नेपाल समुहले महासचिव र आईसिसिमा दाबी गरेपछि भने शुरुमै पदको बाँडफाड नगरी संयुक्त रूपमा चुनाव लड्ने सहमातिमा पहिला जाने रणनीति अवलम्बन गरिएको बुझिएको छ ।
पद बाँडफाड भएमा यो समुहले उपाध्यक्षमा बद्री लोहनी र महासचिवमा रमेश कँडेलको नाम अघि सार्ने देखिएको छ ।

नेपाल प्रगतिशील मञ्चले भने अध्यक्षमा दाबी नगर्ने तर उपाध्यक्ष, महासचिवलगायतका मुख्य पदहरूमा दाबी गरेको छ ।

उता कांग्रेसनिकट मानिएकी अनुजा प्रधानले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना देखिएको छ । प्रधानको उम्मेदवारीलाई रोक्न सके भट्ट समुहलाई चुनावमा प्रतिष्पर्धा गर्न सजिलो हुने छ ।

भट्ट समुहबाट दिनेश भण्डारी, मदन दवाडी, नरहरि सापकोटा, लाल गुरुङ, दीपक न्यौपाने, काशी दनै, सुदर्शन सिम्खडा, सुशीला खतिवडा, निर्मला बजगाईं लगायत चुनावमा देखिने भएका छन् । तथापि, उनीहरूलाई कुन–कुन पदमा उठाउने भन्ने बारे यकिन भइसकेको छैन ।

बेल्जियम एनआरएनएमा पनि कांग्रेसनिकटको बाहुल्यता देखिन्छ । तर गुटगत राजनीतिका कारण अधिकांश निर्वाचनमा कांग्रेस पराजित हुन पुगेको छ । यस्तो अवस्था आउन नदिनका लागि अहिले सबै पक्षसँग निरन्तर छलफल र वार्ता भइरहेको जनसम्पर्क समितिनिकट एक सदस्यले बताएका छन् । उनका अनुसार यदि सहमति हुन नसके वा अन्य संगठनले अध्यक्षबाहेकका पदहरूमा सहमति गर्न नसके भट्टको नेतृत्वमा जनसम्पर्क समिति एकल रुपले चुनावी मैदानमा जाने सम्भावना पनि देखिएको छ ।