पाकिस्तानमा २६ देशबाट भ्रमण गर्न प्रतिबन्ध

पाकिस्तानमा २६ देशबाट भ्रमण गर्न प्रतिबन्ध



पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो ।

नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसिओसिस्ले अहिले बाहिरी देशहरुबाट मानिसहरुलाई आउन दिनु उपयुक्त नहुने निश्कर्ष निकालेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरुलाई ए, बी र सी समूहमा वर्गीकरण गरेको छ । वर्गीकरण गरिएकामध्ये सी समूहमा परेकाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको एएनआईले जनाएको छ ।

अन्य ए र बी समूहमा परेका देशहरुबाट पाकिस्तान आउन चाहनेहरुलाई भने विभिन्न सर्त तथा मापदण्डहरु तय गरिएको छ । ती मापदण्ड पूरा गरेपछि आउन पाइने वा आएपछि ती मापदण्ड पालना गर्नु पर्ने सरकारी निकायको निर्णय रहेको छ ।

पाकिस्तान प्रवेश प्रतिबन्ध गरिएका देशहरुमा छिमेकी मुलुक भारतसहित इरान, बङ्गलादेश, भुटान, इन्डोनेसिया, इराक, माल्दिभ्स, नेपाल, श्रीलङ्का, फिलिपिन्स, अर्जेन्टीना, ब्राजिल, मेक्सिको, दक्षिण अफ्रिका, ट्युनिसिया, बोलिभिया, चिली, कोलम्बिया, कोस्टारिका, डोमिनिक गणतन्त्र, इक्वेडर, नामिबिया, पाराग्वे, पेरु, ट्रिनिडाड र टोवागो सँगसँगै उरुग्वे रहेका छन् । ती सबै देशहरुलाई पाकिस्तानले सी समूहमा राखेको छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार १९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् भने ५७ जनाको मृत्यु भएको छ ।