- केशवप्रसाद भट्टराई
बधाई कृष्णचन्द्र नेपालीलाई कि दीपक मनाङ्गेलाई भन्ने मेरो जिज्ञासामाथि कतिपय स्वनामधन्य काङ्ग्रेसी मित्रहरूको मेरा यसअघिका टिप्पणीसमेतलाई जोडेर उहाँहरूका टिप्पणी र प्रश्नहरू अनि दाबीहरूलाई मैले बुझेअनुसार प्रस्तुत गरेको छु ।
१) परिवेश र सन्दर्भ
निःसन्देह सौम्य, शिष्ट, त्यागी र निष्ठावान कृष्णचन्द्र नेपाली मैले सम्मान गर्ने काङ्ग्रेसी नेता हो ।
शेरबहादुर देउवा र रामचन्द्र पौडेल त मेरा नेता नै भए ।
पृथ्वी सुब्बा गुरूङलाई त म प्रत्यक्ष चिन्दा पनि चिन्दिनँ ।
केपी शर्मा ओलीको हकमा पनि त्यस्तै हो ।
वैचारिक आधारमा पृथ्वी सुब्बा गुरूङ्गभन्दा कृष्णचन्द्र नेपाली मूख्यमन्त्रीमा र केपी ओलीभन्दा शेरबहादुर देउवा प्रधानमन्त्रीमा मेरो रूचि र छनौटका हुन् ।
मेरो आस्था पनि उनीहरूसँग जोडिएको र उनीहरूसँग मेरो लामो चिनजानले पनि मेरो त्यो रूचि र छनौट रहेको हो ।
तर देउवा र नेपाली दुवै सिद्धान्तहीन र अवसरवादी गठबन्धनको भरमा नभएर आफ्नो पौरखले, आफ्नो संगठनको बलमा, स्वस्थ राजनीतिक अभ्यासबाट ती पदमा पुगुन् र पुग्नुपर्दछ भन्ने मेरो मान्यता र विश्वास हो ।
२) वर्तमान काङ्ग्रेस नेतृत्व कतिपय युवा स्वनाम धन्य काङ्ग्रेसी मित्रहरूको वर्तमान शैलीको राजनीति, अभ्यास, दृष्टिकोण र टिप्पणीहरू र ती टिप्पणीहरूबाट उठ्ने सम्भावित प्रश्न, टिप्पणी र दाबीहरूलाई मैले देहायअनुसार समेट्ने कोशिस गरेको छु र, तिनलाई विनम्रतापूर्वक प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
३) १. पृथ्वी सुब्बा गुरुङ्गले हुने कृष्णचन्द्र नेपालीले नहुने ?
दीपक मनाङ्गेलाई तिनले नायक मान्न हुने, हामीले नहुने ?
ओलीले हुने, देउवाले नहुने ?
प्रचण्ड-बाबुरामले हुने, हामीले नहुने ?
३) २. माकुने-झलनाथले हुने, पौडेल-सिटौलाले नहुने ?
उनीहरू लूटपाट–हत्या हिंसामा लाग्दा हुने, हामीले नहुने ?
ओली सरकारले भ्रष्टाचार गर्न हुने हामीले नहुने ?
हामीले खानु पर्दैन, कार्यकर्ता पाल्न पर्दैन ?
ओलीहरूले खाएको मात्रै हेरेर बस्ने हामीले ?
उनीहरू अनुशासनहीन हुँदा हामी हुन नपाउने ?
उनीहरूले सत्ताको लागि गति छोडेर लुछाचुँडी गरिरहँदा हामीले नहुने ?
गर्छौं, गर्छौं, गर्छौं !
जे-जे ख्यास्नु छ ख्यास !
पद र सत्ताको लागि जे-जे गर्नुपर्छ गर्छौं !
३)३. यौटा कुरा प्रष्ट देखियो- ओलीको जतिसुकै विरोध गरे पनि मोडेल त ओली नै रहेछन् ।
राजनीतिक आदर्श प्रचण्ड र बाबुरामको !
मानदण्ड ओलीको !
त्यसैले भनेको भन्यै छन्- ओलीले पनि त… !
ओलीले हुने, हामीले नहुने ?
ओलीले गरे, हामी पनि गर्छौं !
कसैले सिकाउनु पर्दैन, कसैले भन्नु पर्दैन !
समर्थन गरे गर, नगरे नगर !
भोट हाल्न मन लागे हाल, मन नलागे नहाल !
माओवादी-माकुने गूटसँगको सहकार्यबाट त्यसको भरपाइ गरौँला ।
जहाँ जानु छ जाऊ, जे गर्नु छ गर !
हाम्रो बाटो यही हो !
हिजो एक-दुई ठाउँमा हँसिया-हथौडामा भोट हाल्यौँ अब मुलुकभरी आधा-आधा सिट बाँडेर लड्छौँ !
दुई तिहाई ल्याउँछौँ ।
ओलीले माओवादीसँग मिलेर दुई तिहाई ल्याए हामी पनि त्यसैगरी माओवादीसँग ल्याउँछौँ ।
ओलीले हुँदा देउवाले किन नहुने ?
देउवा के कम ?
हामी के कम ?
१२बुँदे १२बुँदे एक हौँ भन्न किन नहुने ?
१२बुँदेका मालिकहरूप्रति प्रष्ट प्रतिबद्धता र सेवकभाव नभएका ओली फालेर त्यस्तो प्रतिवद्धता र सेवकभाव भएका माओवादी र एमालेका विद्रोही साथीहरूसँग बसेर १२बुँदेको परिकल्पनाअनुसारको नयाँ नेपाल निर्माण गर्न हामीले किन नपाउने ?
यो भारत होइन, हामीलाई १२बुँदेकै भारत चाहिन्छ, त्यही भारतको सेवा गर्छौं भन्न किन नपाउने ?
३) ४. अनि बाहिरी र उहाँहरूका बेसरोकारका प्रश्न-
उनीहरूको चोर्दा हुने, अनि भोलि काङ्ग्रेसको चोरिँदा, चोर्दा के हुने ?
कथं संसद् पुनर्स्थापना भएमा काङ्ग्रेसका चोरेर भोलि देउवाभन्दा अघि कसैले संसदमा बहुमत देखाए के हुने ?
माओवादी र माकुने बोकेर, चुनावी तालमेल गरेर जाँदा काङ्ग्रेस मतदाता घरैमा बसिदिए के हुने ?
एमाले सांसदहरूले ह्विप उल्लङ्घन गर्न हुने, काङ्ग्रेसी सांसदले नहुने ?
एमालेका उछिट्टिएका सांसद बोकेर देउवाले सरकारको दाबी गर्न हुने, भोली काङ्ग्रेसका त्यस्तै सांसद बोकेर ओलीले सरकारको दाबी गर्न हुने-नहुने ?
४) अन्त्यमा तीन वर्षअघिको आफ्नो एउटा पोस्ट-
‘कुनै पनि युगमा सत्य झूठबाट पराजित भएको छैन !
तर सत्यलाई सत्य हो भनेर भन्न नसक्ने,
सत्य जान्न नखोज्ने,
सत्यको उपेक्षा गर्ने
र सत्यको पक्षमा उभिने साहस नगर्नेहरूबाट भने सत्य पराजित भएको छ ।
भइ नै रहेको छ ।’
प्रतिक्रिया